
धरान: धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलले भारतको नागाल्यान्ड राज्यको मोकोक्चुङमा आयोजना हुने २१२ औँ भानु जयन्ती कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र परम्परा झल्काउने सांस्कृतिक नृत्य प्रस्तुत गर्ने भएको छ।
विद्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत भारतको नागाल्यान्डस्थित मोकोक्चुङमा रहेको गोर्खा विद्यार्थी सङ्घको औपचारिक निमन्त्रणा अनुसार आगामी असार २९ गते (जुलाई १३) आयोजना हुने कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिएको हो।
विद्यालयका कोअर्डिनेटर आगानसाङ्ग राईले प्रेस विज्ञप्ति वाचन गर्दै उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको मौलिक कला, संस्कृति, भेषभूषा तथा सांस्कृतिक पहिचान झल्काउने पाँचवटा मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गर्ने बताए। उनका अनुसार यो सहभागिता विद्यार्थीहरूको प्रतिभा प्रदर्शन मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर हुनेछ।
कार्यक्रममा सहभागी हुन विद्यालयका आठ जना विद्यार्थीसहितको टोली आवश्यक तयारीका साथ असार २७ गते नागाल्यान्ड प्रस्थान गर्ने उनले जानकारी दिए।
विद्यालयका प्रबन्ध निर्देशक गणेश राईले आफू नागाल्यान्डमै जन्मिएर हुर्किएको स्मरण गर्दै त्यहाँ रहँदा तामाङ सेलो र झ्याउरे गीत मात्र सुन्ने अवसर पाएको बताए। नेपाल आएपछि भने साकेला, कौडा लगायत विभिन्न जातजातिका सयौँ मौलिक गीत, नृत्य र सांस्कृतिक सम्पदाबारे जानकारी पाएको उल्लेख गर्दै उनले ती संस्कृतिलाई नागाल्यान्डमा रहेका नेपाली मूलका समुदायमाझ पुर्याउने चाहना लामो समयदेखि रहेको बताए।
“हाम्रो विद्यालयका विद्यार्थीहरूलाई त्यहाँ लगेर नेपालको मौलिक संस्कृति देखाउने इच्छा धेरै वर्षदेखि थियो। यसैबीच मोकोक्चुङस्थित गोर्खा विद्यार्थी सङ्घबाट भानु जयन्तीका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत गर्न औपचारिक निमन्त्रणा प्राप्त भएपछि हाम्रो सपना पूरा हुने अवसर आएको छ,” उनले भने।
राईले भारतको नागाल्यान्डमा पुस्तौँदेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायबीच नेपालको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विद्यालयको सहभागिताले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सन्जिता राईले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेकोमा आयोजक संस्था, अभिभावक, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको सफल सहभागिताका लागि शुभकामना ब्यक्त गरिन्।


