
धरान: कोशी प्रदेशका कृषि मन्त्री इस्राईल मन्सुरीले जलवायु परिवर्तनका कारण कृषि क्षेत्र थप चुनौतीपूर्ण बन्दै गएको भन्दै प्रविधिमैत्री र यान्त्रिक कृषिको विकल्प नरहेको बताएका छन्।
सोमबार २३औँ राष्ट्रिय धान दिवस तथा १२औँ धरान रोपाइँ महोत्सव–२०८३ को अवसरमा धरान–६ पानबारीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मन्सुरीले जलवायु परिवर्तन, खडेरी र हावाहुरीका कारण किसानहरू प्रभावित भइरहेकाले आधुनिक प्रविधिको प्रयोगमार्फत कृषि उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले कृषि ज्ञान केन्द्रको तथ्याङ्क उद्धृत गर्दै हालसम्म सुनसरी जिल्लामा १९ प्रतिशत र कोशी प्रदेशभर १५ दशमलव ३४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिए। प्रदेशका १४ जिल्लामध्ये भोजपुरमा सबैभन्दा बढी ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने झापामा सबैभन्दा कम ६ दशमलव १३ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए।
मन्त्री मन्सुरीले प्रदेश सरकारले कृषिको यान्त्रिकीकरणलाई प्राथमिकतामा राख्दै आधुनिक कृषि औजार तथा उपकरणको प्रयोग विस्तार गर्ने नीति लिएको बताए। यसबाट उत्पादन लागत घट्ने, श्रमको अभाव कम हुने र उत्पादन वृद्धि हुने विश्वास उनले व्यक्त गरे।
उनले चालु आर्थिक वर्षको बजेटमा कृषि प्राविधिक परिचालन, सिँचाइ विस्तार, उन्नत बीउको व्यवस्था, रासायनिक मलको सहज उपलब्धता,कृषि उपजको बजारीकरण तथा किसान बीमा कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।
राष्ट्रिय धान दिवस किसानको श्रम, योगदान र समर्पणप्रति सम्मान व्यक्त गर्ने अवसरसमेत भएको उल्लेख गर्दै उनले किसानलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
यस्तै, धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले पनि रोपाइँमा सहभागी हुँदै कृषकहरूलाई प्रविधिमैत्री कृषि प्रणाली अपनाउन आग्रह गरे। आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढाउनुका साथै उत्पादन लागत घटाउन पनि सहयोग पुग्ने उल्लेख गर्दै उनले प्रविधिमा आधारित खेती नै कृषि क्षेत्रको दिगो विकासको आधार भएको बताए।
बेघाले परम्परागत खेती प्रणालीसँगै आधुनिक प्रविधि र यान्त्रिकीकरणलाई जोड्न सके पर्याप्त कृषि उत्पादन गर्न सकिने धारणा व्यक्त गरे। समयअनुकूल प्रविधि अपनाएर उत्पादनमुखी खेतीतर्फ अग्रसर हुन उनले किसानहरूलाई आग्रह गरे।
सहभागी कृषि सहकारी संस्थाको आयोजनामा सम्पन्न महोत्सव ‘जलवायुमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय मूल नाराका साथ आयोजना गरिएको थियो।
कार्यक्रममा कृषि मन्त्री मन्सुरीलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो भने फूलमालाले सम्मान गरिएको थियो। महोत्सवमा जनप्रतिनिधि, कृषि क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधि, सहकारीकर्मी, किसान तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।


