
धरान: धरानमा जारी मेयर कप स्कूल ओलम्पिक–२०८३ अन्तर्गत टेबलटेनिस प्रतियोगितामा युरेका स्कुलका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अधिकांश उपाधि आफ्नो पक्षमा पारेका छन्। श्रेया सुवेदीले दुई उमेर समूहमा स्वर्ण जित्दै प्रतियोगिताकी आकर्षक खेलाडीकारूपमा आफूलाई स्थापित गरेकी छन्।
सोमबार सम्पन्न प्रतियोगितामा अण्डर–१५ र अण्डर–१७ छात्रा समूहमा श्रेया सुवेदीले लगातार प्रथम स्थान हासिल गर्दै दोहोरो स्वर्ण जितिन्। दुवै समूहमा युरेकाकी चन्साया सुवेदी दोस्रो स्थानमा रहिन्।
यस्तै, सुनाखरी एकेडेमीकी आदित्मा मगरले पनि उत्कृष्ट प्रदर्शन गरिन्। उनले अण्डर–१२ छात्रा समूहमा स्वर्ण जित्नुका साथै अण्डर–१५ र अण्डर–१७ समूहमा समेत प्रतिस्पर्धा गर्दै दुवैमा तेस्रो स्थान हासिल गरिन्।
अण्डर–१० तर्फ विष्णुका सौरव अग्रहरी प्रथम, युरेकाका आरभ परियार द्वितीय, बुद्ध आदर्शका तेन्येन तामाङ तृतीय तथा युरेकाकै निशब श्रेष्ठ चौथो स्थानमा रहे।
अण्डर–१२ छात्रतर्फ युरेकाका आश्विन श्रेष्ठ प्रथम, होली गार्डेनका अम्सन अधिकारी द्वितीय तथा अरनिकोका सन्दीप योञ्जन र सेन्ट जोसेफका सुमित विक संयुक्त तृतीय बने। छात्रातर्फ सुनाखरीकी आदित्मा मगर प्रथम, जुनियर पायोनियरकी परिनिता दास द्वितीय तथा सुनाखरीकै सञ्जिला लिम्बु र लवली राई संयुक्त तृतीय भए।
अण्डर–१५ छात्रतर्फ मेघाका गौतम तामाङ प्रथम, विष्णुका रेहान कर्माचार्य द्वितीय तथा नेपाल पुलिसका गौतम राई र युरेकाका अभय शाक्य संयुक्त तृतीय बने।
अण्डर–१७ छात्रतर्फ मेघाका सिद्ध गौतम तामाङ प्रथम, विष्णुका रेहान कर्माचार्य द्वितीय तथा युरेकाका प्रनेशोन देवान र अभय शाक्य संयुक्त तृतीय बने।
धरानभरका ३५ विद्यालय सहभागी टेबलटेनिस प्रतियोगिताको समापन समारोहमा धरान उपमहानगरपालिका–८ का वडाध्यक्ष धनबहादुर राईले विजेता खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरे। समापन समारोहमा श्री ल्याबोरेटरी माध्यमिक विद्यालयका खेल शिक्षक तथा जिल्ला खेलकुदका पदाधिकारीहरूको उपस्थिति रहेको खेल संयोजक भरत शाक्यले जानकारी दिए।
यस्तै, मेयर कप स्कूल ओलम्पिकअन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अमर सेवा समाज, धरान–१३ मा तथा फुटबल प्रतियोगिता धरान रंगशालामा सञ्चालन भइरहेको छ।


