
धरान: कोशी प्रदेशसभा सदस्य विजय राईले धरान रंगशालालाई प्यारापिटसहित व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक लगानी गर्ने बताएका छन्।
शनिबार तेस्रो धरान स्कूल ओलम्पिकको उद्घाटन गर्दै सांसद राईले सीमित स्रोत–साधनका बाबजुद रंगशालाको पूर्वाधार विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
‘उनले भने ‘सीमित स्रोत र साधनका बाबजुद पनि रंगशाला व्यवस्थित हुन्छ। ढुक्क हुनुस्, प्रदेश सरकारले स्रोत सुनिश्चित गर्छ ।’
धरान खेलकुद मञ्चको आयोजनामा सुरु भएको प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। अघिल्ला संस्करणझैं यसपटक पनि स्थानीय स्तरमा लुकेका खेल प्रतिभालाई पहिचान र अवसर प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा विशेष अतिथी पूर्व मेयर तिलक राईले खेलकुद प्रतियोगिताको प्रभावकारी व्यवस्थापनले विद्यार्थी, प्रशिक्षक र व्यवस्थापक सबैलाई लाभ पुग्ने बताए। यस्ता प्रतियोगिताले विद्यार्थीको भविष्य निर्माणमा सकारात्मक भूमिका खेल्ने उनको विश्वास थियो।
उनले कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख, वडा १, ३ र १८ का अध्यक्षसहित कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको उल्लेख गर्दै अन्य जनप्रतिनिधिको पनि सहभागिता हुनुपर्ने धारणा राखे।
त्यसैगरी, धरानको समग्र विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा प्यासन एनप्यावसन समूहका सदस्यहरूको सक्रिय सहभागिता र योगदानको प्रशंसा गरे।
धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले खेलकुद र शिक्षालाई एकअर्काको पूरकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। विद्यार्थीको बहुआयामिक व्यक्तित्व विकासका लागि शिक्षासँगै खेलकुद अपरिहार्य रहेको उनको भनाइ थियो।
उनका अनुसार प्रतियोगिताको उद्देश्य नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पार्नु, ओलम्पिक चार्टरबारे जानकारी गराउनु तथा भविष्यमा व्यावसायिक खेलाडी बन्ने मार्गनिर्देशन गर्नु हो।
आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा केही प्राविधिक तथा व्यवस्थापकीय कमजोरी रहे पनि त्यसबाट सिक्दै आगामी २०८३ साल मंसिरमा चौथो संस्करण अझ व्यवस्थित र प्रभावकारी रूपमा आयोजना गरिने अध्यक्ष राईले बताए।
स्कुल ओलम्पीक असार १३ गते देखि २० गते सम्म हुने भएको छ । तेस्रो स्कुल ओलम्पिकमा फुटबल, क्रिकेट, भलिबल, सितेरियो कराते, तेक्वान्दो, बास्केटबल, टेबल टेनिस, सेपाक ताक्रो, उसु र ब्याडमिन्टन समावेश रहेको बताइएको छ । प्रतियोगितामा स्कुलहरूले १० वटै खेलमा सहभागी बन्न पाउने छन् । न्यूनतम २ खेलमा सहभागी हुन चाहने आधारभूत तहका विद्यालय पनि स्कुल ओलम्पिकमा सहभागी रहेको छ । प्रतियोगितामा धरानभरका निजी तथा सामुदायिक स्कुलको सहभागिता रहेको छ ।


