
धरानमा स्काउटको आयोजनामा तीन दिने ‘दल नायक तालिम’ सुरु भएको छ। शुक्रबार कावा नगरप्रमुखले झण्डोत्तोलन गर्दै तालिमको उद्घाटन गरे। धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले स्काउटिङलाई केवल स्वयंसेवी संस्थाको रूपमा मात्र नभई कडा अनुशासन र नेतृत्व विकासको बलियो पाठशाला भएको बताए।
बेघाले स्काउटमा ‘हुकुमको तामेली’अर्थात् कमान्ड पालनालाई उच्च महत्व दिइन्छ, जसले बालबालिका तथा युवाहरूमा स्वअनुशासन, जिम्मेवारी र नेतृत्व क्षमता विकास गर्न सहयोग पुर्याउने बताए।
तालिमले विद्यार्थीहरूलाई विपद् व्यवस्थापन,अनुशासन, नेतृत्व विकास र सामाजिक सेवामा सक्रिय बनाउने उद्देश्य लिएको छ। स्काउटका अनुसार बाढी, आगलागी, पहिरो जस्ता प्राकृतिक विपत्ति, महामारी तथा सामाजिक सेवाका कार्यहरूमा कसरी खटिने र समुदायलाई सुरक्षा प्रदान गर्ने भन्ने विषयमा व्यावहारिक सीप प्रदान गरिन्छ।
अनुशासन र व्यक्तित्व विकासलाई विशेष जोड दिँदै स्काउटले विद्यार्थीहरूमा स्वअनुशासन, समूह अनुशासन र मानवताको भावना विकास गराउने प्रशिक्षण दिइन्छ। ‘दायाँ मोड’, ‘अगाडि बढ’, ‘लाइनमा बस’ जस्ता कमान्ड अभ्यासमार्फत सहभागीलाई अनुशासित र जिम्मेवार बनाइने गरिएको बताए ।
समाजमा स्काउटको माग पनि बढ्दो छ। भिडभाड व्यवस्थापन,महामारी नियन्त्रण, ठूला कार्यक्रम सञ्चालन तथा दुर्घटना वा विपद्को समयमा स्काउट स्वयंसेवकहरूलाई सहयोगका लागि परिचालन गरिने गरिन्छ।’
तालिमका क्रममा कठिन परिस्थितिमा टिक्ने क्षमता सर्भाइभल स्किल्स विकासमा पनि जोड दिइन्छ। जङ्गलमा बस्ने, आफैं खाना पकाउने, पौडी खेल्ने, डोरी वा रुखमा चढ्ने जस्ता अभ्यासले सहभागीलाई जुनसुकै संकटमा पनि आत्मनिर्भर र सक्षम बनाउने लक्ष्य राखिएको छ।
दल नायक तालिमले विद्यालयस्तरमै नेतृत्व उत्पादन गर्दै स्काउटका गतिविधिलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको बताए।
कार्यक्रममा वक्ताहरूले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै देशका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
बेघाले भने, “यो अनुशासन कुनै शासकत्व होइन, तालिमकै अनिवार्य र सकारात्मक पक्ष हो, जसले सहभागीलाई अनुशासन र धैर्यता सिकाउँछ।” उनले ‘लाइनमा बस’ जस्ता निर्देशनमा तुरुन्तै अनुशासित रूपमा प्रतिक्रिया दिने अभ्यासले विद्यार्थीलाई जिम्मेवार बनाउने बताए।
प्रशिक्षक तथा कोर्स लिडरहरूका अनुसार स्काउटिङ ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने विधिमा आधारित छ। यस्तो अभ्यासले भविष्यमा विपद्, महामारी वा आपतकालीन परिस्थितिमा सामूहिक रूपमा जिम्मेवारी बहन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
धरान उपमहानगरपालिका र स्थानीय स्काउट कार्यालयको सहकार्यमा नगरका विभिन्न विद्यालयका ट्रूप लिडरहरूलाई लक्षित गरी आवासीय प्रशिक्षण सञ्चालन गरिएको हो।
बेघाले तीन दिनको बसाइमा सुरक्षित, सहज र अनुशासित सिकाइ वातावरण सुनिश्चित गर्नुपर्ने बताउँदै सहभागीहरूलाई अधिकतम ज्ञान र सीप हासिल गर्न शुभकामना दिए।
स्काउटका कोशी प्रदेश संयोजक हेमन्त भण्डारीले पछिल्लो समय धरानमा स्काउट गतिविधि सक्रिय बन्दै गएको छ। गत डेढ महिनामा नगर क्याम्प, चित्रकला प्रतियोगिता लगायत ३–४ वटा कार्यक्रम सफलतापूर्वक सम्पन्न बताए।
उनले कार्यक्रममा भौतिक विकास मात्र नभई मानवीय विकास पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै स्काउटले बालबालिकालाई असल नेतृत्व, अनुशासन र सही मार्गतर्फ डोर्याउने काम गरिरहेको बताए।
स्थानीय सरकारको तर्फबाट धरानमा स्काउट गतिविधिलाई अघि बढाउन आर्थिक, नैतिक तथा अन्य सबै पक्षबाट निरन्तर सहयोग भइरहेको आयोजकले जनाएको छ।
स्काउटिङलाई युवामैत्री गतिविधिका रूपमा लिँदै ६ देखि २५ वर्ष उमेर समूहका विभिन्न तहका स्काउटहरू यसमा आबद्ध रहेका छन्।
कार्यक्रमका सभापति मधुसुदन घिमिरेले धरानको स्काउट कार्यक्रमलाई अझ सशक्त र व्यवस्थित बनाउँदै लैजाने लक्ष्य रहेको बताए । उृनले तालिमलाई सफल बनाउन दमक, रंगेली लगायत विभिन्न स्थानबाट आएका कोर्स लिडरहरूको योगदानप्रति पनि आभार व्यक्त गरे ।


