
धरान: धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले क्याम्पस प्रशासनलाई ४ बुद्धे ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न समस्या तत्काल समाधान गर्न माग गरेको छ ।
स्ववियुले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले दैनिक रूपमा भोगिरहेका समस्या समाधानमा प्रशासन गम्भीर नभएको आरोप लगाएको छ ।
मंगलबार स्ववियु सभापति प्रसान राई र सचिव पवन बस्नेतद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कार्यालय खुलेको समयमा समेत विद्यार्थीहरुले सहज सेवा नपाएको,बीबीएस प्रथम वर्षको आन्तरिक परीक्षा समयमै सञ्चालन नभएको तथा क्याम्पस व्यवस्थापन प्रभावकारी बन्न नसकेको उल्लेख गरिएको छ ।
त्यस्तै विद्यार्थीमैत्री वातावरण कमजोर बन्दै गएको र गुनासा सम्बोधनमा ढिलासुस्ती भइरहेको भन्दै स्ववियुले असन्तुष्टि जनाएको छ ।
स्ववियुले समस्या समाधानकालागि तत्काल पहल गर्न आग्रह गर्दै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।


