समाज

मुक्कुमलुङ संरक्षणको मागसहित पाथीभरा केबलकार खारेजीको अडान


धरान: मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति सुनसरीले ताप्लेजुङस्थित मुक्कुमलुङ क्षेत्र लिम्बु रयाक्थुङ समुदायको मुन्धुमी, सांस्कृतिक तथा आध्यात्मिक पवित्र स्थल भएकाले यसको संरक्षण गर्नुपर्ने मागसहित निर्माणाधीन पाथीभरा केबलकार परियोजना खारेजीको अडान दोहोर्‍याएको छ ।
समितिले बिहीबार ईलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई बुझाएको स्मरणपत्रमा विसं २०५३ सालयता मुक्कुमलुङको पहिचान र अस्तित्वमाथि अतिक्रमण हुँदै आएको उल्लेख गरेको हो।
स्मरणपत्रमा तत्कालीन सरकारले ‘पाथीभरा क्षेत्र विकास समिति’ गठन आदेशमार्फत उक्त क्षेत्रलाई औपचारिक रूपमा ‘पाथीभरा’नामकरण गरेको तथा २०७५ सालमा त्यसलाई संशोधन गरिएको जनाइएको छ ।
त्यस्तै,२०७५ पुस १३ र १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पाथीभरा केबलकार प्रालि लाई ‘पाथीभरा देवी दर्शन केबलकार योजना’ सञ्चालन अनुमति दिएको स्मरणपत्रमा उल्लेख छ ।
समितिले त्यसयता स्थानीय बासिन्दा तथा विभिन्न समुदायले मुक्कुमलुङ संरक्षण र केबलकार खारेजीको माग गर्दै निरन्तर आन्दोलन गरिरहेको जनाएको छ । ‘विकास’ को नाममा क्षेत्रको व्यापारीकरण गर्न खोजिएको आरोप लगाउँदै समितिले केबलकार निर्माणलाई “विनाशको योजना” को संज्ञा दिएको छ ।
स्मरणपत्रमा उक्त कार्य अन्तर्राष्ट्रिय कानून, विसं १८३१ मा कान्तिपुर नेपाल र लिम्बुवानबीच भएको सन्धि तथा नेपालको संविधानको धारा ३२ र ३० विपरीत रहेको दाबी गरिएको छ ।
समितिले मुक्कुमलुङ क्षेत्र याक्थुङ समुदायको परम्परागत पुख्र्यौली भूमि भएकाले त्यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक अधिकारको सम्मान गर्नुपर्ने उल्लेख गरेको छ । साथै, केबलकारसहित कुनै पनि संरचना निर्माणले क्षेत्रको मुन्धुमी र सांस्कृतिक अस्तित्वमा प्रतिकूल असर पार्ने भएकाले यस्ता गतिविधि रोक्न माग गरिएको छ ।
त्यस्तै, उक्त क्षेत्रमा कुनै पनि योजना अघि बढाउनुअघि अन्तर्राष्ट्रिय कानूनअनुसार आदिवासी समुदायको ‘अग्रिम जानकारीसहितको स्वतन्त्र मञ्जुरी’ लिनुपर्ने कुरा समेत समितिले स्मरण गराएको छ ।
समितिले मुक्कुमलुङ–पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजना अवैध रूपमा अघि बढाइएको आरोप लगाउँदै स्थानीय समुदाय, आदिवासी लिम्बूहरूको आस्था र पहिचानसँग जोडिएको क्षेत्रलाई व्यावसायिक परियोजनामार्फत अतिक्रमण गर्न खोजिएको जनाएको छ ।
समितिका प्रतिनिधिहरूले केबलकार निर्माणले वातावरणीय असर, सांस्कृतिक हस्तक्षेप तथा स्थानीय समुदायको अधिकारमाथि गम्भीर प्रभाव पार्ने दाबी गरेका छन् । उनीहरूले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी समेत दिएका छन् ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले