खेलकुद

पर्यटन वर्षसँग जोडेर कोशीमा १० भन्दा बढी अन्तर्राष्ट्रिय खेल हुने: मुख्यमन्त्री कार्की


धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशको पहिचान र राष्ट्रिय आयको प्रमुख आधार पर्यटन बन्न सक्ने बताएका छन्।
शुक्रबार धरान–४ स्थित छोटी मोरङमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले हिमाल, पहाड र तराई समेटिएको कोशी प्रदेश अन्य प्रदेशको तुलनामा विशिष्ट रहेको बताए।
उनले प्रदेशमा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्याराग्लाइडिङ र माउन्टेनियरिङ जस्ता खेलले आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।
आगामी आर्थिक वर्ष २०८३ /०८४ को बजेटमा प्याराग्लाइडिङलाई विशेष प्राथमिकता दिइने र अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता उनले जनाए। अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने तथा नेपाल पर्यटन बोर्डको समेत सहभागिता रहने मुख्यमन्त्री कार्कीले घोषणा गरे।
धरान र आसपासका क्षेत्रलाई प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सरकारको रहेको उल्लेख गर्दै उनले नयाँ आर्थिक वर्षदेखि पर्यटन वर्ष र भ्रमण वर्षलाई जोडेर प्याराग्लाइडिङसहित १० भन्दा बढी विधाका अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।
खेलकुद आयोजना गर्दा केन्द्र, प्रदेश, स्थानीय तह र विभिन्न संघसंस्थाबीच हुने विवादले काममा असर पुग्ने भएकाले सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न उनले आग्रह गरे।
कार्यक्रममा सहभागी भारतीय खेलाडी तथा पाइलटहरूलाई स्वागत गर्दै उनले नेपाल र भारत, विशेषगरी सिक्किमबीचको भाषिक तथा सांस्कृतिक निकटताले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे। साथै आगामी जेठ १५ गतेपछि योजना र बजेट व्यवस्थापनबारे थप छलफल गर्न सरोकारवालाहरूलाई आह्वान समेत गरे।
धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मन्जु भण्डारीले छोटी मोरङ क्षेत्रमा प्याराग्लाइडिङका लागि उपयुक्त उडान बिन्दु पहिचान गरिएको बताइन्। खेलाडीहरूले आफैं फेला पारेको स्थान र हरदिया–दानाबारी क्षेत्र उडानका लागि उपयुक्त देखिए पनि सेउतीको बगर क्षेत्रलाई सुरक्षित ल्याण्डिङ स्थलका रूपमा प्राविधिक टोलीले उपयुक्त ठहर गरेको उनले जानकारी दिइन्।
प्राविधिक अध्ययनपछि तत्कालीन कार्यपालिकाले उक्त क्षेत्रलाई आधिकारिक उडान तथा अवतरण बिन्दुका रूपमा निर्धारण गरेको भण्डारीले बताइन्।
उनले धरानमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिता सुरु हुनु सुखद पक्ष भएको उल्लेख गर्दै यसले खेल पर्यटनमा ठूलो सम्भावना बोकेको बताइन्। प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएसँगै नयाँ खेलाडी उत्पादन हुन थालेकोमा समेत उनले खुसी व्यक्त गरिन्।
प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा वैशाख २५ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–४ छोटी मोरङबाट उडान भरेर धरान–१४ स्थित खत्रीधारा क्षेत्र आसपास अवतरण हुने व्यवस्था गरिएको छ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय खुला, पुरुष, महिला तथा राष्ट्रिय पुरुष र महिला गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा चीन, श्रीलङ्का, मलेसिया तथा युरोपेली देशका खेलाडी सहभागी हुने भनिएपनि हाल भारतका खेलाडीहरूको मात्र उपस्थिति रहेको छ। साथै १८औँ एसियाली खेलकुदका पदक विजेता खेलाडीहरू समेत प्रतिस्पर्धामा उत्रिएका छन्।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक