
धरान: एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको नेतृत्व क्षमता र वक्तृत्व कला निखार्ने उद्देश्यले धरानमा ‘छैटौं एसईई स्पिकर प्रतियोगिता’आयोजना हुने भएको छ।
सोमबार र्याडिकल लाईट धरानले पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिताको तयारी र नयाँ स्वरूपबारे जानकारी दिएको हो।
२०७८ सालबाट सुरु गरिएको एसईई स्पीकर प्रतियोगिता विगतका वर्षहरूको तुलनामा यसपटक अझ फरक र रचनात्मक हुने आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले बताए। उनका अनुसार यस वर्ष प्रतियोगिताको मुख्य आकर्षणका रूपमा ‘नमुना संसद’ अभ्यास समावेश गरिएको छ।
उनले ‘नमुना संसद’ अभ्यासमा विद्यार्थीहरूलाई देशको वास्तविक संसद जस्तै मन्त्री, सांसद र सभामुखको भूमिकामा प्रस्तुत गरिने जानकारी दिए। यस अभ्यासले विद्यार्थीहरूलाई भाषण कला मात्र नभई कानुन निर्माण प्रक्रिया, संसदीय मर्यादा तथा लोकतान्त्रिक मूल्यमान्यताबारे व्यावहारिक ज्ञान दिने विश्वास गरिएको छ।
प्रदेश स्तरसम्म प्रतियोगिता सञ्चालन गरिसकेको आयोजक संस्थाले अब धरान उपमहानगरपालिका स्तरको कार्यक्रमलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउने लक्ष्य लिएको जनाएको छ। सिजन–६ अन्तर्गत कुल १०० पूर्णाङ्कमध्ये ७५ अङ्क वक्तृत्वकला भाषणबाट र बाँकी २५ अङ्क ‘नमुना संसद’ अभ्यासबाट प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई विभिन्न चरणमा विशेषज्ञहरूद्वारा तालिम प्रदान गरिने आयोजकले जनाएको छ। अन्तिम चरणमा छनोट भएका उत्कृष्ट विद्यार्थीहरूले ‘नमुना संसद’को पूर्ण अभ्यासमा सहभागिता जनाउनेछन्।
प्रतियोगिताका विजेताले रु १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने फस्ट रनरअपले रु ७ हजार, सेकेन्ड रनरअपले रु ३ हजार र थर्ड रनरअपले रु १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको छनोट चरण वैशाख १८ गते सम्पन्न हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस प्रतियोगिताले धरान तथा आसपासका क्षेत्रका एसईई दिएका विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ।


