
धरान: कवि भीम विरही राईलाई ‘युद्ध साहित्य पुरस्कार–२०८२’ प्रदान गरिएको छ। युद्ध साहित्य पुरस्कार कोष, बेलायत को आयोजनामा धरान–९ स्थित होटेल रत्न इनमा सम्पन्न अर्पण समारोहमा राईलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्मा तथा विशिष्ट अतिथिहरूले कवि राईलाई नगद ५० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए। वक्ताहरू जनकऋषि राई र डाक्टर अस्मिता बिष्टले नेपाली साहित्य, विशेषगरी युद्ध साहित्य क्षेत्रमा राईले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए। युद्धसम्बन्धी विषयवस्तुलाई साहित्यमार्फत समाजमा स्थापित गर्न राईले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको थियो।
समारोहमा वक्ताहरु जनकऋषि राई र डा. अस्मिता बिष्टले कवि भीम विरही राईको ‘बारुदले कोरेका अक्षरहरू’ कविता सङ्ग्रहबारे समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए। आयोजक संस्थाका पदाधिकारीहरूले युद्ध साहित्यको प्रवर्द्धन तथा स्रष्टाहरूको सम्मानका लागि यो पुरस्कार स्थापना गरिएको जानकारी दिएका थिए।
प्रमुख अतिथि प्राज्ञ शेर्माले आफ्नो मन्तव्यमा विश्व इतिहास युद्ध र संघर्षबाटै निर्माण भएको उल्लेख गर्दै विभिन्न कालखण्डका युद्धहरूले वर्तमान राजनीतिक तथा सामाजिक व्यवस्थाको जग बसालेको बताए। उनले ७ सालको क्रान्ति, २८ सालको आन्दोलनदेखि हालसम्मका राजनीतिक परिवर्तनहरू पनि संघर्षकै परिणाम भएको उल्लेख गरे।
उनले वर्तमान समयमा युद्धको स्वरूप परिवर्तन हुँदै डिजिटल युद्धको अवधारणा विकसित हुँदै गएको बताए। युद्ध साहित्यले हजारौँ वर्षअघिका धार्मिक युद्धदेखि आधुनिक युद्धसम्मका उपलब्धि, समस्या तथा योद्धाहरूको योगदानलाई उजागर गर्ने काम गर्ने धारणा व्यक्त गरे।
वक्ताहरूले युद्ध साहित्यको उद्देश्य युद्धलाई बढावा दिनु नभई युद्धका पीडा र विभीषिकालाई उजागर गर्दै समाजमा शान्ति स्थापना गर्नु रहेको बताए। युद्ध साहित्य अध्ययनमार्फत भविष्यमा हुन सक्ने युद्धका सम्भावनालाई कम गर्न सकिने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा नेपाली गोर्खाली सैनिकहरूले विभिन्न मुलुकमा देखाएको वीरता तथा उनीहरूले भोगेका अनुभवहरूलाई साहित्यमा समेट्नु आवश्यक रहेकोमा जोड दिइएको थियो। साथै, पुराना कला र इतिहासलाई नयाँ पुस्तामा पुर्याउन आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको थियो।
छलफलका क्रममा उग्रवाद र ‘ब्यान्डिट’ जस्ता प्रवृत्तिबारे समेत चर्चा गरिएको थियो। आफ्ना विचारलाई स्पष्ट रूपमा राख्नु सकारात्मक भए पनि समाज र राष्ट्रका लागि घातक प्रवृत्तिबाट सचेत रहनुपर्नेमा जोड दिइएको थियो। युद्ध साहित्यले विगतका गल्तीबाट सिक्दै शान्तिपूर्ण भविष्य निर्माण गर्न मार्गदर्शन गर्ने विश्वास वक्ताहरूले व्यक्त गरेका थिए।
नरेश काङमाङले आगामी दिनहरूमा पनि युद्ध साहित्य पुरस्कार कोष, बेलायत मार्फत कविहरूलाई निरन्तर पुरस्कृत गर्ने जानकारी दिएका छन्।


