
धरान: ईलाका प्रहरी कार्यालय धरानमा फागुन महिनाभरिमात्र ३८ वटा मुद्दा दर्ता भएका छन्। लागुऔषधसहित १९ जना पक्राउ परेका छन् भने फरार प्रतिवादी १ जना पक्राउ गरी ३ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राईले जानकारी दिँदै फागुन महिनामा सबैभन्दा बढी लागुऔषध सम्बन्धी १० मुद्दा दर्ता भएको बताए। त्यस्तै सवारी ज्यान १, बहुविवाह १, आपराधिक उपद्रव ८, कर्तव्य ज्यान १, अभद्र व्यवहार १, बैंकिङ कसूर ४, ठगी ४, झुण्डिएर मृत्यु २ र भवितव्य ५ गरी जम्मा ३८ मुद्दा दर्ता भएका छन्।
लागुऔषध दुर्व्यसन नियन्त्रण अभियान अन्तर्गत पक्राउ परेका १९ जनाको साथबाट ट्रामाडोल १ हजार ४६८ क्याप्सुल, स्पास्पिन १ हजार ८८ ट्याब्लेट, डिकोलिक ४०५ ट्याब्लेट, स्पास्मो प्रोभिसवन २८८ क्याप्सुल र गाँजा १ केजी ६७ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। साथै २ वटा मोटरसाइकल र २ वटा चारपाङ्ग्रे सवारी साधन पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन ३ वटा एलआरपी र १३० वटा एसआरपी परिचालन गरेको जनाएको छ। साथै सार्वजनिक सेवा प्रवाहअन्तर्गत फागुन महिनाभरि ५१८ जना महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिएको डीएसपी राईले बताए।

