
धरान: नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरान नगर कमिटीले पार्टी अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारलाई चेतावनी दिएको छ।
एमाले धरानले आइतबार इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका नेताहरूको बिना सर्त तत्काल रिहाइको माग गरेको हो। ज्ञापनपत्र कार्यालय प्रमुख फणिन्द्र दाहाल मार्फत बुझाइएको जनाइएको छ।
अध्यक्ष हर्कजंग एभेङले ज्ञापनपत्र हस्तान्तरण गर्दै चैत १४ गते शनिबार बिहान गरिएको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी’ भएको बताएका छन्। उनले उक्त गिरफ्तारीले लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत कार्य गरेको भन्दै घोर भर्त्सना गरेका छन्।
एमाले धरानले विगतका घटनाहरूको छानबिनका लागि गठन गरिएका आयोगहरू विवादित रहेको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
संविधान, लोकतन्त्र र मानवअधिकारको पक्षधर दल तथा आम नागरिकलाई चिन्तित बनाउने यस्ता गतिविधि तत्काल रोक्न एमाले धरानले सरकारलाई आग्रह गरेको छ।
ज्ञापनपत्र बुझाउने क्रममा एमालेका केन्द्र प्रदेश र स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

