धरान विशेष

हर्क साम्पाङले खर्च गरेको १५ करोडको हिसाब खोज्दै एमाले, काङ्ग्रेस भाग माग्दै, कार्यपालिका बहिष्कार

धरान: धरानका कार्यवाहक उपप्रमुख अइन्द्रविक्रम बेघाले बुधबार बोलाएको बैठकमा नेकपा एमाले र काङ्ग्रेसका कार्यपालिका सदस्य उपस्थित भएनन् ।

धरानका १४ वटा मुख्य एजेण्डा कार्यपालिका बैठक नबस्दा अनिर्णित बने । जसमा बसपार्क सञ्चालन कार्यविधिदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकको नि:शुल्क उपचार, शववाहन र एम्बुलेन्स खरिदलगायतका विषय थिए ।

नेकपा एमाले र नेपाली काङ्ग्रेसको आआफ्नै अडानका कारण बुधबार बोलाइएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न नसकेको खुलेको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डको रिक्त सदस्यमा नेपाली काङ्ग्रेसले आफ्नो सिफारिसमा सदस्य नियुक्तिको माग गरेको छ भने नेकपा एमालेले नगर भिजन कोषको ब्रेक डाउन उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

एमालेले नगर भिजन कोष अन्तर्गत हर्क साम्पाङले खर्च गरेको भनिएको १५ करोड रुपैयाँ र तत्कालीन उपप्रमुख अइन्द्रविक्रम बेघाले खर्च गरिएको भनिएको साढे ५ करोड रुपैयाँको ब्रेक डाउन माग गर्दै आएको छ । उक्त ब्रेक डाउन कार्यवाहक प्रमुख बेघाले उपलब्ध नगराएसम्म कार्यपालिका बैठकमा सहभागी नहुने एमाले स्रोतले जनाएको छ ।

यद्यपि दलहरूले कार्यसूची अध्ययन गर्न समय नपुगेको भन्दै बहाना बनाए पनि नेपाली काङ्ग्रेसले व्यवस्थापन बोर्डमा रिक्त रहेका सदस्यमा आफ्नो दलले सिफारिस गरेका अनिल श्रेष्ठलाई नियुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।

धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाको सचिवालय स्रोतका अनुसार रिक्त सदस्य पदपूर्तिमा बार्गेनिङ भइरहेको छ । नेपाली काङ्ग्रेस र नेकपा एमालेले अड्को थापेपछि कार्यपालिका बैठक नै बस्न नसकेको स्रोतको दाबी छ ।

कार्यवाहक प्रमुख बेघाले दलहरूको मागमा सहमति गर्ने छाँट नदेखाएपछि बुधबार बोलाइएको बैठकमा दलहरू अनुपस्थित रहेको बताइएको छ ।

खानेपानी बोर्डमा दुई सदस्य रिक्त:

०७७ सालमा खानेपानी संस्थानलाई गाभेर धरान उपमहानगरपालिकाको स्वामित्वमा रहने गरी खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएको थियो ।

०७९ वैशाखसम्म तत्कालीन मेयर तिलक राईको अध्यक्षतामा बोर्ड गठन गरिएको थियो । बोर्डमा ६ सदस्यीय समिति रहने प्रावधान थियो ।

तर ऐनले भने ७ सदस्यीय समितिको प्रावधान राखेको छ । बोर्डको क्षेत्रधिकार एउटै पालिका (धरान) भित्रमात्र रहेकाले ऐनअनुसार एक सदस्य कम गरिएको छ ।

ऐनमा बोर्डको भौगोलिक क्षेत्रभित्रका नगरपालिकाको प्रमुख सदस्य, खानेपानी मन्त्रालयका प्रतिनिधि, बोर्डको भौगोलिक क्षेत्रभित्रका गाउँपालिकाका अध्यक्षहरुले आफूहरुमध्येबाट छानेको गाउँपालिकाको एकजना अध्यक्ष सदस्य, स्थानीय उद्योग वाणिज्य सङ्घको अध्यक्ष सदस्य, स्थानीय उपभोक्ता सङ्घको अध्यक्ष सदस्य, खानेपानी वा सरसफाई सेवा क्षेत्रमा कार्यरत स्थानीय गैर सरकारी संस्थाहरुमध्येबाट समितिले मनोनयन गरेको एकजना व्यक्ति सदस्य र खानेपानी तथा सरसफाई सेवा क्षेत्रका विज्ञहरुमध्येबाट समितिले मनोनयन गरेको एकजना सदस्यसहित ७ सदस्यीय समिति रहने प्रावधान छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डमा ०७९ देखि नगर प्रमुख बोर्डको अध्यक्ष हुँदै आएका छन् । तर ऐनमा सदस्यहरू मध्येले चुनेको जो कोही पनि अध्यक्ष हुन सक्ने व्यवस्था छ । सुनसरी उद्योग वाणिज्य संघका सभापति र प्रदेश सरकारको खानेपानी डिभिजनका उपसचिव पदेन सदस्य हुँदै आएका छन् ।

धरान नगर प्रमुखबाट हर्कराज राईले राजीनामा दिएपछि बोर्डको अध्यक्षका रुपमा कार्यवहाक नगरप्रमुख अइन्द्रविक्रम बेघाले जिम्मेवारी सम्हालेका छन् । उपमहानगर स्रोतका अनुसार समितिमा दुई सदस्य रिक्त रहेको छ । समितिले खानेपानी, वन तथा वातावरण क्षेत्रका दुई जनालाई नियुक्त गर्नुपर्ने देखिन्छ । उक्त रिक्त पदमा दलले आफूले सिफारिस गरेका व्यक्तिलाई मनोनित गर्नुपर्ने माग राख्दै आएको बुझिएको छ ।

बैठकले ‘बसपार्क सञ्चालन कार्यविधि’, नगर सभा, ट्रायल सेन्टर, जेसी अडिटको प्रतिवेदन, अपाङ्गता भएका व्यक्तिहरूको मिलिजुली समूहको बिउपुँजी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, सडक मानव उद्धार तथा व्यवस्थापन, प्रवर्द्धन केन्द्रलगायतका १४ वटा कार्यसूची तय गरेको थियो ।

मेयर भिजन कोष र उपमेयर भिजन कोषमा बजेट विनियोजन हुन नहुने भन्दै दलहरूले विरोध गरेपछि धरान उपमहानगरपालिकाले समयमै नगरसभा र बजेट विनियोजन गर्न सकेको थिएन ।

‘मेयर-उपमेयर भिजन कोष’ नभनिने ‘नगर भिजन कोष’ नाम दिने र निश्चित विकास बजेट विनियोजन गर्ने सहमतिपछि धरान उपमहानगरले बजेट पास गरेको थियो । तत्कालीन मेयर हर्क साम्पाङ र दलबीच भएको भित्री सहमतिमा नगर भिजन कोषअन्तर्गत कार्यपालिका सदस्यसम्मलाई ५ लाख रुपैयाँ विकास खर्च वितरण गर्ने सहमति भएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।