
धरान: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र–१ मा नेपाली काँग्रेसका उम्मेद्वार सुजेन्द्र तामाङलाई जिताउने उद्देश्यले ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको छ।
आईतबार नगर सभापति श्याम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको हो।
संयोजक पोखरेलले यसपटक कांग्रेस उम्मेद्वार तामाङको जित सुनिश्चित रहेको दाबी गर्दै सुनसरी–१ मा ६ हजार ५ सय क्रियाशील सदस्य रहेको जानकारी दिए। उनले भने“एक जना क्रियाशीलले चार जना मतदातालाई प्रभावित गर्न सके मात्रै पनि यसपालिको चुनावी माहोलअनुसार कांग्रेसको जित पक्का हुन्छ।,”
उनले धरान क्षेत्रमा मात्रै कांग्रेसको करिब १५ हजार मत रहेको छ, जुन जितको बलियो आधार हो। जेन–जी आन्दोलनपछि जनभावनाअनुसार कांग्रेसमा परिवर्तन आएको उल्लेख गर्दै उनले युवा नेता गगन थापालाई अबको प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको बताए।
यसैगरी सुनसरी–१ निर्वाचन मूल परिचालन समितिका संयोजक तथा कोशी प्रदेश महामन्त्री उमेश थापाले कांग्रेस बद्लिएको पार्टी भएको दाबी गरे।
थापाले भने “नयाँ नेतृत्व, नयाँ भिजन र नयाँ सोचसहित पार्टी पुनर्निर्माण भएको छ। जेन–जी आन्दोलनका मागहरू कांग्रेसले समेटेर निर्वाचनमा सहभागी भएको छ ।,” नयाँ शक्ति भन्दै जनतामा भ्रम छरिने प्रयास भइरहेको उल्लेख गर्दै उनले मतदातालाई त्यसबाट मुक्त गराउन पार्टी कार्यकर्ता लाग्नुपर्ने धारणा व्यक्त गरे।

