
धरान: नेपालभरका १९ वटा मेडिकल कलेजका विद्यार्थीहरूको सहभागितामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बहुविषयक विद्यार्थी सम्मेलन ‘साईन्याप्स २०२६’ सुरु भएको छ। विद्यार्थी कल्याण समाजको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ।
आठ वर्षपछि दोस्रो पटक आयोजना गरिएको साईन्याप्स सम्मेलनले चिकित्सा शिक्षा मात्र होइन,विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक सन्तुलनमा समेत जोड दिएको आयोजकको भनाइ छ।
कार्यक्रमको उद्घाटन गर्दै बीपी प्रतिष्ठानका उपकुलपति डाक्टर बिक्रम श्रेष्ठले साईन्याप्स महोत्सवले चिकित्सा विद्यार्थीहरूको शैक्षिक दक्षतासँगै मानसिक स्वास्थ्य, सामाजिक समन्वय र मानवतामुखी दृष्टिकोण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा प्रतिष्ठानका रेक्टर डा संजीव शर्माले साईन्याप्सले खेलकुद तथा सांस्कृतिक गतिविधिमार्फत विद्यार्थीहरूलाई शैक्षिक बोझबाट आवश्यक मानसिक विश्राम प्रदान गरेको बताए। उनले स्वास्थ्यकर्मीहरूले अरूको हेरचाह गर्नुअघि आफ्नै स्वास्थ्य र तन्दुरुस्तीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने, “मानवतासँग गरिएको उपचार नै साँचो उपचार हो भन्ने अवधारणालाई साईन्याप्सले प्राथमिकतामा राखेको छ।”
त्यसैगरी, रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले साईन्याप्स महोत्सवले प्रभावकारी सञ्चार, नेतृत्व क्षमता र टिमवर्कजस्ता सामाजिक तथा अन्तरव्यक्तिगत सीप विकासमा विशेष ध्यान दिएको बताए । साईन्याप्सले आपसी जडान, समन्वय र सहकार्यको आवश्यकता झल्काउने उल्लेख गर्दै भविष्यका चिकित्सकहरूले बिरामीहरूको विविध सांस्कृतिक पृष्ठभूमि बुझ्नुपर्नेमा जोड दिए ।
साईन्याप्स पहिलो पटक सन् २०१८ मा आयोजना गरिएको थियो। गैर–राजनीतिक तथा गैर–नाफामुखी विद्यार्थी संस्थाद्वारा आयोजना गरिएको साईन्याप्स २०२६ को मूल नारा ‘पुनर्जीवित, पुनः जोडिने र लचिलोपन’ तय गरिएको छ।
कार्यक्रम संयोजक प्रज्ज्वल खाणले साईन्याप्स २०२६ ले देशभरका मेडिकल, डेन्टल तथा प्यारामेडिकल विद्यार्थीहरूलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको बताए। संयोजक खाणले साईन्याप्सले आपसी सम्बन्ध विस्तार,अनुभव आदान–प्रदान र सहकार्य प्रवर्द्धन गर्ने विश्वास गरिएको छ साथै, पूर्वी नेपालको चिकित्सा शिक्षा र स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
साईन्याप्स महोत्सव केवल विद्यार्थीहरूको भेलामा सीमित नभई पाठ्यक्रम बाहिरका बौद्धिक, कलात्मक तथा शारीरिक क्षमताको विकासका लागि राष्ट्रिय मञ्च बन्ने आयोजकको विश्वास छ।
महोत्सवमा चितवन मेडिकल कलेज,कलेज अफ मेडिकल साइन्सेस भरतपुर,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,काठमाडौँ विश्वविद्यालय चिकित्सा विज्ञान विद्यालय,विराट मेडिकल कलेज,नोबेल मेडिकल कलेज,स्वास्थ्य तथा सहायक विज्ञान विद्यालय, पोखरा,नेपालगञ्ज मेडिकल कलेज,नेशनल मेडिकल कलेज, पर्सा, किस्ट मेडिकल कलेज लगायतको उपस्थिती रहेको छ ।
सप्ताहव्यापी सम्मेलनअन्तर्गत मानसिक स्वास्थ्य प्रवर्द्धनलाई ध्यानमा राख्दै शुक्रबार बिहान जनचेतनामूलक पदयात्रा आयोजना गरिएको थियो। बिहान साढे ५ बजेदेखि सुरु भएको पदयात्रामा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा।डा। संजीवकुमार शर्मा, शैक्षिक डिन प्राडा अनुपसहित सहभागी थिए।
सम्मेलन अवधिभर खेलकुद, साहित्यिक, कलात्मक तथा वैज्ञानिक गतिविधिहरू सञ्चालन हुनेछन्। खेलकुदतर्फ अन्तर–कलेज क्रिकेट प्रतियोगितामा पहिलो खेलमा घरेलु टोली र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।
फुटबल, भलिबल, बास्केटबल, फुटसल, क्रिकेट, कबड्डी, टेबल टेनिस, ब्याडमिन्टन, चेस, एथलेटिक्स तथा मोबाइल र कम्प्युटर गेम प्रतियोगिताहरू लिग–कम–नकआउट प्रणालीमा सञ्चालन हुनेछन्।
साहित्यिक कार्यक्रमअन्तर्गत क्विज, स्पेलिङ बी, वक्तृत्वकला, वादविवाद, फोटोग्राफी, स्केचिङ, पेन्टिङ, छोटो कथा, निबन्ध, पुस्तक समीक्षा र कविता प्रतियोगिताहरू आयोजना गरिनेछ। प्रत्येक दिन साँझ सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम समेत रहनेछ।
सांस्कृतिक विधामा अन्तर–कलेज नृत्य तथा गायन प्रतिस्पर्धा, ब्याटल अफ द ब्यान्ड्स र सेसन कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै, महोत्सव अवधिभर रक्तदान कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ।
वैज्ञानिक सत्रअन्तर्गत विद्यार्थीहरूलाई अनुसन्धान प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ। सत्रहरूमा विशेषज्ञ न्यायाधीश प्यानल रहनेछ भने बीपी जर्नल अभिलेखहरूमा पहुँच उपलब्ध गराइने आयोजकले जनाएको छ।
पूर्ण र सविन राईको प्रस्तुति
सप्ताहव्यापी साईन्याप्स सम्मेलनको अन्तिम दिन माघ २४ गते लोकप्रिय गायक सविन राई र पूर्ण राई दाजुभाइसहित रक ब्याण्डहरूको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ। समापन समारोहमा नृत्य प्रतियोगिता समेत आयोजना गरिने जनाइएको छ।

