धरान विशेष

बीपी प्रतिष्ठानभित्र सञ्चालन भएको चमेना गृह सम्झौता विपरीत सञ्चालनमा


धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र सञ्चालनमा रहेको ‘चमेना गृह’ प्रतिष्ठान र सञ्चालकबीच भएको सम्झौता विपरीत सञ्चालन भएको पाइएको छ ।
जुन प्रयोजनका लागि चमेना गृह सञ्चालन हुनुपर्ने थियो त्यसको ठीक विपरीत हुदा पनि प्रतिष्ठानको व्यवस्थापन पक्ष मौन रहेको पाइएको छ ।
सञ्चालनका लागि भाडामा दिइएको पुरानो धर्मशाला भवनमा अहिले कपडा, फलफूल, पेय पदार्थदेखि इलेक्ट्रोनिक सामानसम्म बेचिने सपिङ सेन्टर सञ्चालन भइरहेको पाइएको हो । चमेना गृह सञ्चालनको सम्झौता हुँदाहुँदै सपिङ सेन्टर चलाइएको तथ्य बाहिरिएपछि पनि प्रतिष्ठानको सम्बन्धित पक्ष मौन रहेको छ ।
नाम उल्लेख नगर्ने शर्तमा प्रतिष्ठानका एक पदाधिकारीले दिएको जानकारी अनुसार क्यान्टिन सञ्चालकले ‘चमेना गृह’ सञ्चालनका लागि अनुमति पाएका थिए । सम्झौता प्रतिष्ठान र सञ्चालक बीच भएको सम्झौतामा पनि चमेना गृह नै सञ्चालन गर्ने प्रष्ट उल्लेख हुदा हुदै पनि अहिले त्यहाँ ‘डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । उनले चमेना गृहको नाममा सम्झौता विपरीत अन्य सामाग्रीहरु समेत विक्री गर्दा समेत अस्पताल प्रशासन मौन रहेको बताए ।

२०८० चैत २२ मा प्रतिष्ठानले सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसलसँग तीन वर्षका लागि चमेना गृह चलाउने सम्झौता गरेको थियो । सम्झौतामा उल्लेख भएको भन्दा फरक ढंगले अहिले त्यस गृहबाट लत्ताकपडा, खाद्यान्न, फलफूल, पेय–पदार्थलगायत सबै प्रकारका सामान विक्री गर्ने गरेको स्वयम् सञ्चालकले स्वीकारेका छन् ।
सञ्चालक रोशन साहले चमेना गृहसँगै अन्य सामाग्री त्यहाँ उपलब्ध गराउँदा बीपीमा उपचारमा आएका विरामीहरुलाई सहज भएको दाबी गरे । उनले चमेना गृह सञ्चालन गर्दा यहाँका विरामीहरुले विरामीलाई अन्य सामाग्रीका लागि भौतारिनु नपरोस्, यही उपलब्ध होस् भन्ने अभिप्रायले अन्य सामाग्री समेत राखेको बताए ।
खुल्लम खुल्ला चुनौति दिदै सहमति बिना सञ्चालनमा आएको यो चमेना गृहका सञ्चालक र प्रतिष्ठानकै पदाधिकारीको मिलेमतो भएको प्रतिष्ठानका एक कर्मचारीले बताए । उनले भने–‘सञ्चालनमात्र हैन उनलाई बीपीले आवासका लागि समेत सुविधा दिएको छ, सम्झौता पत्रमा आवासको विषयमा उल्लेख नै गरेको छैन ।’
के छ सम्झौता पत्रमा:
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र सुनिल क्यान्टीन तथा खुद्रा कपडा पसलबीच चमेना गृह सञ्चालनका लागि २०८० साल वैसाख २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार प्रतिष्ठान परिसरभित्रको पुरानो धर्मशाला भवन मासिक ६ लाख २१ हजार १ सय १६ भाडा तिर्ने शर्तका साथ तीन वर्षका लागि भाडामा दिइएको छ ।
सम्झौताअनुसार पहिलो वर्षपछि प्रत्येक वर्ष १० प्रतिशत भाडा वृद्धि हुनेछ । भाडावालाले ६ महिनाको भाडा बराबरको धरौटी रकम बैंकमार्फत वा परफरमेन्स बण्डमार्फत बुझाउनु पर्नेछ ।
जुन प्रयोजनका लागि चमेना गृह सञ्चालन भएको हो त्यही सञ्चालन हुनुपर्ने तर व्यवसाय परिवर्तन गर्नुपर्ने भए प्रतिष्ठानको पूर्वस्वीकृति आवश्यक उनले दुवै पक्षको सम्झौता पत्रमा उल्लेख छ ।
यसका साथै कर–महसुल समयमै तिर्नु पर्ने तथा प्रतिष्ठानले तोकेको नियम र निर्देशनहरू कडाइका साथ पालना गर्नुपर्ने प्रावधान सम्झौतामा उल्लेख छ ।
शर्त उल्लंघन भएमा, भाडा नबुझाएमा, वा प्रतिष्ठानलाई आवश्यकता परे एक महिनाको पूर्वसूचना दिई क्षेत्र फिर्ता लिइने व्यवस्था राखिएको छ । विवाद उत्पन्न भएमा दुवै पक्षको आपसी सहमतिमा समाधान खोजिने र निस्कर्ष ननिस्किए प्रतिष्ठानको कार्यकारिणी समितिको निर्णय अन्तिम मानिन समेत सम्झौता पत्रमा उल्लेख छ ।
सम्झौतामा प्रतिष्ठानका तर्फबाट रजिस्ट्रार प्रा. डा. सूर्य प्रसाद संग्रौला र चमेना गृह सञ्चालक रोशन साहले दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा हस्ताक्षर गरिएको प्रतिष्ठानले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।