
धनकुटा: धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश–१–०२–००१ ख ९६०६ नम्बरको साइराम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा धनकुटा महालक्ष्मी नगरपालिका–६ की ५५ वर्षीया गंगा कार्कीको घटनास्थलमै मृत्यु भएको छ भने महालक्ष्मी नगरपालिका–९ का ६० वर्षीय डिल्लीराम बरालको उपचारका क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य सात जना यात्रु घाइते भएका छन् ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बस उकालो चढ्दै गर्दा टायर पड्किएको आशंका गरिए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसको ढोकामा रहेका यात्रुहरू बढी प्रभावित भएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ ।