
धरान: जेन-जी आन्दोलनको नाममा धरानमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध कडा कारबाहीको माग गर्दै धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले इलाका प्रहरी कार्यालय धरानमा आज किटानी जाहेरी दर्ता गरेका छन् ।
पूर्व मेयर मेन्याङ्बोले आफूले सञ्चालन गर्दै आएको होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट जस्तो अराजक गतिविधि भएको उल्लेख गर्दै ५३ लाख २३ हजार रुपैयाँभन्दा बढीको क्षति भएको दाबी गरेका छन् । उनले दोषी पहिचान गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
उनले भने ‘होटलका भौतिक संरचना मात्र नभई भित्र रहेका सम्पूर्ण सामग्रीसमेत तोडफोड गरिएको छ । यो राजनीतिक आन्दोलनको नाममा व्यक्तिगत पूर्वाग्रहका आधारमा योजनाबद्ध हमला हो ।’
उक्त उजुरी दर्ता गराउने क्रममा पुर्ब प्रतिनिधि संसद जय कुमार राई, धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राई, निवर्तमान उपप्रमुख मञ्जु भण्डारी, लगायत स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।
निवर्तमान उपमेयर मञ्जु भण्डारीले पनि आन्दोलनको नाममा गरिएको तोडफोड व्यक्तिगत रिसइवीका कारण भएको बताइन। उनले भनिन् ‘अडियो–भिडियो प्रमाणमा समेत देखिएको छ, कसले कस्को घर फोड्न जाने भनेर पहिल्यै योजना बनाइएको थियो । मेरो घरमा ५० देखि ६० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।’
जाहेरी पश्चात इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी प्रकाश जवेगुले घटनाको गम्भीरता बुझेको र दोषीमाथि आवश्यक अनुसन्धान अगाडि बढाइसकेको बताए । उनले भने–‘उजुरीका आधारमा हामी घटनाको विस्तृत छानबिन गर्दैछौं । दोषी को हुन् भन्ने कुरा प्रमाणसहित पत्ता लगाएर कारबाही अगाडि बढाउँछौ’ । भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा पूर्व मेयर मेन्याङ्बो, उपमेयर मञ्जु भण्डारी, काँग्रेस नेता उमेश थापा, सुजेन्द्र तामाङ, कार्यपालिका सदस्य सिर्जना नेपाल लगायतका घरमा तोडफोड तथा आगजनी गरिएको थियो । निवर्तमान मेयर तिलक राई र वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) ले भने तत्कालको प्रतिकारबाट क्षति हुन दिएनन् ।
पीडितहरूले क्रमिक रूपमा उजुरी दर्ता गर्दै अराजक तत्वमाथि कडा कारबाही नहुन्जेलसम्म संघर्ष जारी राख्ने बताएका छन् ।