
विराटनगर: नेपाली कांग्रेस कोशी प्रदेशले हालै जेन- जी युवाहरूको अगुवाइमा सुरु भएको आन्दोलनका क्रममा उत्पन्न परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई वर्तमान संविधानको सीमाभित्र रहेर समस्याको समाधान खोज्न अपिल गरेको छ।
भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी भएका केही युवाहरूको ज्यान गएपछि नेपाली कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, आन्दोलनको क्रममा भएका हिंसात्मक घटना र तोडफोडको कडा शब्दमा भर्त्सना गरिएको छ।
प्रेस विज्ञप्तिमा कांग्रेसका शीर्ष नेताहरू शेरबहादुर देउवा, आरजु राणा लगायतका नेताहरूको निवास र पार्टीका विभिन्न कार्यालयहरूमा भएको आगजनी तथा तोडफोडलाई ‘योजनावद्ध विध्वंस’ भन्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।
जेन- जी आन्दोलनको भावना र घोषणाभन्दा बाहिर गई आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनावद्ध रूपमा विध्वंस गरेका हुन् भन्ने हाम्रो बुझाइ छ,” प्रेस विज्ञप्तिमा भनिएको छ।
कांग्रेस कोशी प्रदेशले पार्टीका सबै तहका कार्यकर्ता, भातृ संस्था तथा आम नागरिकलाई संयमता अपनाई शान्ति र सुव्यवस्था कायम गर्न आग्रह गरेको छ। लोकतान्त्रिक गणतन्त्रको विकल्प पुनः लोकतान्त्रिक गणतन्त्र नै भएको उल्लेख गर्दै, संविधानको मूल मर्म र प्रक्रिया अनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
साथै, विज्ञप्तिमा वर्तमान संकटको बेला संविधानको रक्षकको रूपमा राष्ट्रपतिले खेलेको भूमिकालाई सम्मान गर्दै सबै पक्षसँग समन्वयमा समाधान खोज्न आग्रह गरिएको छ।
अन्त्यमा, कांग्रेसले मुलुकको स्थायित्व, सुशासन र समृद्धिको बाटो यही प्रणालीमार्फत सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ।
