
धरान– नेपालको पुरानो युवा राजनीतिक संगठन नेपाल तरुण दलले हालैका दिनहरूमा सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका युवामाथि प्रहरीद्वारा भएको दमनको कडा भर्त्सना गरेको छ। सुनसरी क्षेत्र न. १ क्षेत्रीय कार्यसमितिबाट जारी गरिएको एक प्रेस विज्ञप्तिमा तरुण दलले जनताले बोल्न र लेख्न पाउने मौलिक हक कुण्ठित गरिने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको माग गर्दै प्रदर्शनमा रहेका युवाहरूलाई गोली प्रहार गरी हत्या गर्नु अमानवीय र अलोकतान्त्रिक कार्य हो।” घटनामा परी हालसम्म १४ जनाको मृत्यु भएको दाबी गर्दै तरुण दलले गृहमन्त्री रमेश लेखकलाई तत्काल बर्खास्त गर्न र कानुनी कारवाही गर्न सरकारसँग माग गरेको छ।
तरुण दलका अध्यक्ष अजय राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यदि सरकार जनताको जायज माग सम्बोधन गर्न असफल रहन्छ भने नेपाल तरुण दल स्वयं सडक संघर्षमा उत्रिन बाध्य हुनेछ।”
प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरिएको छ।
