
धरान: हरेक स्थानीय तहले महिलालाई आत्मनिर्भर बनाउन बजेट नै छुट्याएर सीपमुलक तालिम प्रदान गर्दै आइरहेका छन् । महिला लक्षित बजेटबाट पछिल्लो समय कोशी प्रदेशका हरेक पालिकाले सावुन बनाउने तालिमलाई प्राथमिकतामा राखेका छन् ।
यसै क्रममा पाँचथरको फालेलुङ गाउँपालिकाले समेत आफ्नो पालिकामा रहेका महिलाहरुलाई तालिमार्फत आत्मनिर्भर बनाउन पाँच दिने तीतेपातीबाट सावुन बनाउने तालिम सम्पन्न गरेको छ । असार १२ गतेबाट शुरु भएको तालिम १६ गते सम्पन्न भएको छ ।
तालिमको समापन फालेलुङ गाउँपालिकाका अध्यक्ष डम्बरबीर राईले गर्नुभएको थियो । सो अवसरम बोल्दै अध्यक्ष राईले स्थानीय तहले लक्षित वर्गलाई स्वरोजगार बनाउन विभिन्न प्रकारका तालिम दिनका लागि बजेट नै छुट्याएको बताउदै महिला लक्षित बजेटबाट तीतेपातीबाट सावुन बनाउने तालिम दिइएको बताउनुभयो । उहाँले महिलालाई स्वरोजगार बनाएर समाजमा स्थापित गराउन स्थानीय तहले बजेट छुट्याएर तालिम प्रदान गर्ने गरेको दृष्टान्त बताउँदे अहिलेको माग अनुसार जडिबुटीबाट सावुन बनाउने तालिम सान्दर्भिक भएकोले अनुभवि तथा दक्ष महिला उद्यमी मनिता घिमिरेद्वारा दिइएको तालिमले महिलालाई स्वरोजगार बन्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले लिएको बताउनुभयो ।
तालिममा ३५ जना महिला सहभागी रहेका थिए ।,सो अवसरमा गाउँपालिकाका जनप्रतिनिधि लगायत सम्बन्धित पक्षका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।