
धरान : नेपाली काँग्रेस धरान उपमहानगर समितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा महामन्त्री गगन कुमार थापा आउने भएका छन् ।
धरान १७ स्थित साकेला पार्कमा हुन लागेको कार्यक्रममा महामन्त्री थापा लगायत अन्य नेताहरूले सहभागिता जनाउने भएका हुन् ।
पछिल्लो समय वडा स्तरदेखि नै सक्रिय रहँदै आएको धरान काँग्रेसले केन्द्रीय नेतृत्वको उपस्थितिमा बारम्बार कार्यक्रम गरिरहेको छ । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनमा विजयी भएका विद्यार्थीलाई सम्मान गर्न लागिएको हो । विभिन्न पाँच वटा कार्यक्रम एकै पटक गर्न लागेको नगर समितिले रक्तदान कार्यक्रमलाई समेत समेटेको छ ।
अग्रजलाई सम्मान युवालाई अवसर भन्ने नीतिका साथ लामो समयदेखि लोकतन्त्र र नेपाली काँग्रेसको अभियानमा योगदान पुर्याएका अग्रज नेताहरूलाई समेत सम्मान गर्न लागिएको कार्यक्रम संयोजक प्रवीण राईले बताए । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको र बिहान ८ बजेदेखि नै कार्यक्रम सुरुवात हुने उनको भनाइ छ ।
नगर सम्मेलनमा साङ्गठनिक र राजनीतिक प्रतिवेदन पेस हुने र बन्द सत्रमा त्यस उपर छलफल हुने भएको छ ।
सम्मेलनमा काँग्रेसको आगामी रणनीति र स्थानीय तहको निर्वाचनको पूर्व तयारीका विषयमा समेत बहस हुन लागेको हो ।