
धरानमा पहिलो पटक रोजगार मेलाको आयोजना गरिएको छ। धरान उपमहानगरपालिकाको आयोजना, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्य तथा सुनसरी उद्योग वाणिज्य संघको सहयोगमा युवा पुस्तालाई रोजगारी प्रदान गर्ने उद्देश्यले दुई दिने धरान रोजगार मेला २०८२ को आयोजना गरिएको हो । मेलाको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नुभएको छ ।
स्वदेशमा रोजगारीको अभाव भएको भन्दै दैनिक सैयौ युवा विदेश पलायन भइरहेका छन् । खासगरि स्वदेशमै धेरै रोजगारी भएपनि रोजगारदाता र रोजगार प्रदायक संस्थाबीचको समन्वयको अभावका कारण पनि युवाहरुले रोजगारीको अवसर नपाएको यो मेलाबाट स्पष्ट भएको छ ।
भोलिसम्म चल्ने यो मेला धरान १२ पब्लिक माविको खेल मैदानमा शुरु भएको हो । यहाँ विभिन्न संघ संस्था तथा फर्महरुका ३० वटा स्टलहरु रहेका छन् यी स्टलहरुले १ हजार ७८ जना युवा पुस्तालाई रोजगारी दिनसक्नेछन् । यसको समन्वय आयोजक धरान उपमहानगरपालिकाले गरिदिएको हो । उद्घाटनपश्चात बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राईले अहिले दैनिक १५ सय युवा रोजगारीका लागि विदेशिरहेको अवस्थामा अहिले आयोजना गरिएको मेलाले युवा पुस्तालाई रोजगारीको अवसर जुटाउँदै विदेशिन बाध्य भएका युवाहरुलाई रोक्न सक्ने बताउनुभयो ।
यस्तै कोशी प्रदेशकी सांसद यसोदा कायस्थले कोशी प्रदेश सरकारले स्थानीय उत्पादनललाई प्राथमिकतामा राखेको बताउदै स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर आय आर्जनको माध्यम बनाउन सकेमा नेपालमा भएको युवा वेरोजगार समाप्त भएर जाने बताउनुभयो ।
आयोजक धरान उपमहनगरपालिकाका मेयर हर्कराज राईले स्थानीय स्तरमा युवालाई रोजगार बनाउने उद्देश्यले पहिलो पटक धरानमा रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरुलाई एकै ठाउँमा राखेर दक्ष जनशक्तिलाई रोजगार प्रदान गर्न स्वरोजगार मेलाको आयोजना गरिएको बताउनुभयो ।
नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली“ अन्तर्गत ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्य लिएर स्वरोजगार मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । रोजगारदाताहरुले समेत प्राविधिक ज्ञानमा दक्षता भएकाहरुलाई रोजगारी दिने र ज्ञान नभएकाहरुलाई पनि तालिमको व्यवस्था गरिदिने बताएका थिए ।
रोजगारीको खोजीमा युवा पुस्ता दैनिक विदेश पलायन भइरहेको अवस्थामा स्थानीय स्तरबाट स्थानीय सरकारले चालेको स्वरोजगार अभियानलाई रोजगारदाता, रोजागरका लागि आएका युवापुस्ता लगायतले सह्रानीय कामको रुपमा लिएका छन् । तीनै तहका सरकारले यस्ता कार्यक्रम अगाडि बढाएर लान सकेको खण्डमा वेरोजगार युवाले रोजगारी पाउने र वर्तमान असहज अवस्थामा नीजि क्षेत्रको अर्थतन्त्रमा टेवा पुग्नेमा दुई मत छैन ।