धरान: किरातीहरुको नयाँ बर्ष एलम्बर सम्बत ५०८५ को अवसरमा किरात राई यायोख्खा सुनसरीले आयोजना गरेको सप्ताव्यापी कार्यक्रमको तेस्रो दिन प्रथम यलम्बर बुद्धिचाल (चेस) प्रतियोगितामा विष्णु लिम्बू प्रथम भएका छन।
किरात राई यायोक्खा (किराया) सुनसरीले धरानमा आयोजना गरेको एक दिने सुनसरी स्तरीय प्रथम यलम्बर बुद्धिचाल प्रतियोगिता स्वीस लिग अन्तर्गत सात राउण्डको र्यापिड तरिकाको सो खेलमा सम्म्पन भएको हो।
प्रथम भएका विष्णु लिम्बूले ५ हजार नगद पनि प्राप्त गरे । प्रतियोगितामा प्रज्वल घिमिरे, राजेन्द्र राई, हिमाल राई, सुमेश राई क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ भए । उनीहरुले ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय, र १ हजार रुपैयाँ प्राप्त गरे ।
किराया सुनसरीले किरात समुदायको नयाँ वर्ष यले दोङ ५०८५ लाई स्वागत गर्न साप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन बुद्धिचाल (चेस) खेलको आयोजना गरिएको हो । किरात समुदायले माघ १ लाई नयाँ वर्ष मान्दै आएकोले नयाँ वर्षलाई स्वागत गर्न विभिन्न खेल आयोजना गरिएको किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए । अध्यक्ष राईले आफ्नो प्रतिक्रिया दिदैँ भने–‘यले दोङ नेपालको मौलिक सम्बत् भएकोले राज्यले यसलाई आधिकारिक रुपमा सम्मान गर्नुपर्छ । हामीले गरिरहेको गतिविधि यले दोङलाई स्थापित गराउने अभियान हो ।’
प्रमुख अतिथि किराया केन्द्रीय समिति सदस्य मानभगत चाम्लिङ रहेको सो कार्यक्रमको अध्यक्षता किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले गरेका थिए । कार्यक्रममा सुनसरी बुद्धिचाल सङ्घका अध्यक्ष बलबहादुर तामाङ, बुद्धिचाल सङ्घ प्रदेश–१ का सदस्य राम मादेन तथा आर्बिटर डम्बर राईको पनि उपस्थिति थियो । पुस २५ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पुष २५ छेलो हान्ने, २६ गते रस्सी तान्ने र २७ गते बुद्घिचाल खेल सम्पन्न भइसकेको छ । यसैगरि २८ गते ब्याडमिन्टन, २९ गते यलम्बरको प्रतिमामा दीप प्रज्ज्वलन र माघ १ गते सुम्निामा पारुहाङ बन्ने स्थल धरान–२० बाट ८५ वटा बेलुन उडाउने भएको छ । यसैगरि माघ २ गते महिला फुटसल र माघ २६ गते ३x३ महिला पुरुष बास्केटबल प्रतियोगिता गरिने भएको छ ।