धरान: कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेशका तीन जिल्लामा शनिबारबाट सार्वजनिक सडकमा गुड्ने सवारी साधनका लागि टाइमकार्ड लागू गरिएको छ ।
कोशी प्रदेशमा तीव्र गतिमा गुड्ने सवारी साधनको गति कम गर्नका निम्ति टाइम कार्ड लागू गरिएको हो । मोरङको सुन्दरहरैचा–७ स्थित गछिया चौकमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रकुवेर खापुङले टाइम कार्डको सुरुवात गरे । पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको विराटनगरदेखि धरानसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरीमा टाइमकार्ड लागू गरिएको हो ।
काँकडभिट्टा गईरहेको मे १ ख ३२५४ का बस चालक टुडुलाई जिम्मेवार चालक हुनुपर्ने निर्देशन दिदैं डिआइजी खापुङले कार्ड प्रदान गरेका छन् ।
सडक दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको सहकार्यमा प्रदेशका सडकमा गुड्ने सवारी साधनमा टायम कार्ड लागु गरिएको हो ।
तीव्र गतिमा गाडी कुदाउने होडबाजीबाट सडक दुर्घटना बढेकोले न्यूनीकरणका लागि प्रदेशको पूर्व पश्चिम राजमार्गको १५ ठाउँमा टायम कार्डमा लेखिएको समय चेक गरिने छ । गाडी छुटेको ठाउँबाट तोकिएको समयमा चेक गर्ने ठाउँमा पुग्नु पर्ने टाइम कार्डको नियम छ ।
प्रमुख अतिथि डिआइजी खापुङले सडक दुर्घटनाको जोखिम उच्च रहेकाले यसलाई न्यूनीकरण गर्न सबै क्षेत्रको भूमिका हुनुपर्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशीका अध्यक्ष सरोज श्रेष्ठले टायम कार्ड सुरु भएपछि सवारी साधनहरूको ओभरटेक गर्ने प्रवृत्ति अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । त्यस्ले सडक दुर्घटना न्यूनीकरण गर्न सघाउ पुग्ने उनले बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले सडक दुर्घटनामा दैनिक ८ जनाको मृत्यु हुने गरेको बताए । नेपालका सडकहरू असुरक्षित रहेको उनको भनाई छ । टाइम कार्ड ट्राफिक प्रहरीले सुरु गरे पनि यातायात व्यवसायी र मजदुरहरूको हितमा रहेको उनले बताए ।
कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार टाइम कार्डको चेक प्वाइन्ट धरानको तीनकुने, काँकडभिट्टा, विराटनगर बसपार्क, बिर्तामोड, तारा बारी, केर्खा, बेलबारी, गछिया, इटहरी कलङ्की चोक, पकली, कोशीकटान र भन्टाबारी रहेका छन् ।