
धरान: धरान उपमहानगरपालिका–२० विष्णुपादुकामा असोज २४ गतेदेखि ‘धरान–२० प्रथम महिला नकआउट खुल्ला फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।
महिला फुटबल क्लब धरान–२० विष्णुपादुकाको संयोजन तथा विष्णु सांस्कृतिक युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा आयोजकसहित ८ वटा महिला फुटबल टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
प्रतियोगितामा आयोजक विष्णुपादुका महिला फुटबल क्लब, धरान–२०, भरौल न्युस्टार एकेडेमी, वराहक्षेत्र, तालतलैया फुटबल क्लब, इटहरी, भरौल बालमन्दिर फुटबल एकेडेमी, वराहक्षेत्र, राङ्चा फुटबल क्लब, केराबारी, धरान लेडिज फुटबल टिम, धरान, लेटाङ फुटबल क्लब, लेटाङ र रेवाहाङ फेयर फुटबल क्लब, धरान सहभागी हुनेछन्।
‘महिलाहरूको खेलमा समानता, महिलामा सक्षमता’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक म्हारमेन्दो तामाङले बताइन्।
क्लबका अध्यक्ष विजय लामाले प्रतियोगितालाई विष्णुपादुकाको विकास र खेल पर्यटनसँग जोड्ने उद्देश्य रहेको बताए। उनका अनुसार मोरङ, सुनसरी, झापालगायत विभिन्न स्थानका ए डिभिजन खेलिसकेका महिला खेलाडीसमेत प्रतियोगितामा सहभागी हुनेछन्।
‘धरान–२० धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित हुँदै गएको अवस्थामा यहाँका सम्भावनालाई खेलकुदसँग जोड्नुपर्ने अवस्था छ,’ लामाले भने, ‘स्थानीय सरकारसहित तीनै तहका सरकारलाई विष्णुपादुकामा ए डिभिजन खेल्ने महिला खेलाडी उत्पादन भइरहेका छन् भन्ने देखाउन चाहन्छौं।’
ग्रामीण क्षेत्रमा महिला फुटबलको विकासका लागि प्रायोजक जुटाउन कठिन हुने गरेको लामाले बताए। प्रतियोगितालाई खेल क्षेत्रको विकासका लागि अभियानका रूपमा अघि बढाइएको उल्लेख गर्दै उनले खेल मैदानको प्रवर्द्धन तथा यसको पूर्वाधार विकासको विषयलाई समेत उठाउने बताए।
ए डिभिजन खेलाडी प्रतीक्षा राईले ग्रामीण क्षेत्रमा महिला फुटबलप्रति आकर्षण रहे पनि आवश्यक पूर्वाधार, एकेडेमी, खेल सामग्री तथा नियमित प्रशिक्षणको अभावमा प्रतिभावान खेलाडीलाई माथिल्लो स्तरसम्म पुर्याउन कठिन भइरहेको बताइन्।
नाइन ए साइड ढाँचामा हुने प्रतियोगिता असोज २४ देखि ३१ गतेसम्म शिरिशे खेल मैदान, विष्णुपादुकामा सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजक धरान उपमहानगरपालिका र प्रायोजक धरान–२० नम्बर वडा कार्यालय रहेका छन्। सहप्रायोजकका रूपमा धरानका वडा नं। २, १०, १५ र १८ वडा कार्यालय रहेका छन्।
प्रतियोगिताकै अवसरमा मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगितासमेत आयोजना गरिने आयोजकले जनाएको छ।

