स्वास्थ्य/जिवनशैली

पदभारसँगै उपकुलपति कार्कीको प्राथमिकता अस्पताल डिजिटलाइजेसन, एमआरआई सेवा र आर्थिक सुधार


धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्राडा स्मृति कार्कीले सोमबार पदभार ग्रहण गर्दै सुशासन, पारदर्शिता, अस्पताल डिजिटलाइजेसन, गुणस्तरीय स्वास्थ्य सेवा र आर्थिक सुधारलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेकी छन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले आफ्नो नियुक्ति व्यक्तिगत उपलब्धिभन्दा प्रतिष्ठान र राष्ट्रप्रतिको जिम्मेवारी भएको बताइन्। उनले प्रतिष्ठानका शिक्षक, चिकित्सक, नर्स, कर्मचारी, विद्यार्थी, शुभेच्छुक तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गर्दै २४ वर्षदेखि प्रतिष्ठानमा अध्ययन, अध्यापन र सेवा गर्ने अवसरले संस्थाका चुनौती र सम्भावनाबारे आफूलाई नजिकबाट बुझ्ने अवसर दिएको उल्लेख गरिन्।
उनले प्रतिष्ठानमा स्वच्छ,पारदर्शी र सकारात्मक कार्यसंस्कृति विकास गर्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन्।

उपकुलपति कार्कीले अस्पताल डिजिटलाइजेसन आफ्नो प्रमुख प्राथमिकतामध्ये एक भएको बताइन्। उनले प्रधानमन्त्रीसँगको भेटमा नेपाल र भारतबीच अस्पताल डिजिटलाइजेसनसम्बन्धी समझदारीपत्र (एमओयू) अन्तिम चरणसम्म पुगे पनि सम्बन्धित शाखामा केही प्रशासनिक अन्योलका कारण फाइल रोकिएको विषय उठाएको जानकारी दिइन्।
उनले सम्बन्धित फाइल यथाशीघ्र अघि बढाउन आग्रह गरेको र आफ्नो नियुक्तिसँगै उक्त प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गर्दै नियमित रूपमा फलोअप गरिने बताइन्।

हालै स्वास्थ्य तथा जनसंख्यामन्त्रीको प्रतिष्ठान भ्रमणपछि एमआरआई सेवा सञ्चालन तथा मातृ–शिशु केन्द्र (एमसीएच) निर्माण प्रक्रिया अघि बढेको उल्लेख गर्दै कार्कीले यी सेवा छिट्टै सञ्चालनमा ल्याउने गरी काम गरिने बताइन्।

पदभार ग्रहणलगत्तै अस्पताल तथा आर्थिक प्रशासनका जिम्मेवार अधिकारीसँग छलफल गरी प्रतिष्ठानको समग्र वस्तुस्थिति अध्ययन गरेर त्यसका आधारमा कार्ययोजना तयार गरिने उनले जानकारी दिइन्।
आर्थिक सुधारका विषयमा उनले नेपाल सरकारबाट केही वित्तीय दायित्व तथा रकम प्राप्त भइसकेकाले विगतको तुलनामा प्रतिष्ठानको आर्थिक अवस्था सुधारोन्मुख रहेको बताइन्।
अस्पतालमा आवश्यक औषधि, उपकरण तथा अन्य लजिस्टिक व्यवस्थापनको अवस्था अध्ययन गरी अभाव भएका सामग्रीको उपलब्धता सुनिश्चित गरिने उनले बताइन्। बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन आधारभूत पूर्वाधार सुदृढ बनाइने उनको भनाइ छ।

एमबीबीएसको १५० सिट विस्तारका विषयमा कार्कीले आवश्यक पूर्वाधार रहे पनि छात्रावाससहित अन्य सबै पक्षको विस्तृत अध्ययनपछि मात्र प्रक्रिया अघि बढाइने स्पष्ट पारिन्।

उपकुलपति कार्कीले प्रतिष्ठानको सबैभन्दा ठूलो सम्पत्ति जनता र विद्यार्थीको विश्वास भएको उल्लेख गर्दै विधि, सुशासन र पारदर्शिताका आधारमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट शैक्षिक तथा स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले प्रतिष्ठानका सम्पूर्ण परिवार, सरोकारवाला निकाय र आम नागरिकको साथ र सहयोगबाट प्रतिष्ठानको सुनौलो भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरिन्।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन ।