
धरान: धरान–पोखरा रुटमा सुविधा सम्पन्न सुपर भीआईपी लक्जरी बस सञ्चालनमा आएको छ। करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा खरिद गरिएको बसलाई जगदम्बा ट्राभल्स प्रालिले शुक्रबारदेखि नियमित रात्रिकालीन सेवामा सञ्चालनमा ल्याएको हो।
धरानको भानुचोकबाट छुट्ने बस सेवाको उद्घाटन कोशी प्रदेश यातायात संयोजक सरोज श्रेष्ठसहित यातायात व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा गरिएको थियो।
जगदम्बा ट्राभल्स प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार बसले हरेक दिन धरान–पोखरा रुटमा रात्रिकालीन सेवा सञ्चालन गर्नेछ। उनले यो पूर्वाञ्चलकै पहिलो सुपर भीआईपी लक्जरी बस भएको दाबी गर्दै यात्रुलाई सुरक्षित, आरामदायी र आधुनिक यात्रा अनुभव गराउने उद्देश्यले सेवा सुरु गरिएको बताए।
बसमा ३६० डिग्रीसम्म समायोजन गर्न मिल्ने सिट, सिट बेल्ट, रिमोटबाट सञ्चालन हुने सिट, कम्बल तथा पर्याप्त लेग–स्पेसको व्यवस्था गरिएको छ। त्यसैगरी संलग्न शौचालय, वातानुकूलित प्रणाली (एसी), हीटर–कुलर, रेफ्रिजेरेटर, फुड ट्रली र टेलिभिजन जस्ता सुविधा रहेका छन्।
यात्रुले व्यक्तिगत मिडिया स्क्रिन, उच्च गुणस्तरको साउन्ड सिस्टम तथा निःशुल्क वाइफाइ प्रयोग गर्न सक्नेछन्। साथै यात्राका क्रममा निःशुल्क ब्रेकफास्ट, चिया–कफी, चिसो पेय पदार्थ, मिनरल वाटर र दैनिक पत्रिका उपलब्ध गराइने कम्पनीले जनाएको छ।
सुरक्षालाई प्राथमिकता दिँदै बसमा अनुभवी चालक, प्राथमिक उपचार सामग्री तथा ट्यागसहितको व्यवस्थित लगेज व्यवस्थापनको सुविधा राखिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार सुपर भीआईपी सेवाको टिकट दर प्रतिव्यक्ति करिब २ हजार रुपैयाँ निर्धारण गरिएको छ। रात्रिकालीन लक्जरी बसमा यात्रुको चाप रहने भएकाले अग्रिम बुकिङ गर्न कम्पनीले यात्रुलाई आग्रह गरेको छ।
कार्यक्रममा कोशी प्रदेश यातायात व्यवसायी राष्ट्रीय महासंघ संयोजक सरोज श्रेष्ठले जगदम्बाको लक्जरी बस कोशी प्रदेशमै पहिलो प्रकृतिको अत्याधुनिक सेवा भएको दाबी गरे। उनले बसमा हवाईजहाजसरहका सुविधा उपलब्ध रहेको उल्लेख गर्दै धरानवासीलाई सेवाको उपयोग गर्न आग्रह गरे।
बस पोखरा देखि बेलुका ७ बजे पर्स्याङ र धरानको भानुचोक देखि ४ बजे छुटने अधिकारीले बताए ।


