धरान विशेष

स्मार्ट बसपार्क असार १ गते उद्घाटन हुने,कार्यपालिकाबाट विविधसहित १६ निर्णय पारित


धरान: धरान उपमहानगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले धरान–८ स्थित स्मार्ट बसपार्क आगामी असार १ गते उद्घाटन गर्ने निर्णय गरेको छ। बैठकले बसपार्क उद्घाटन सहित विभिन्न विकास, प्रशासनिक तथा नीतिगत विषयका १६ वटा एजेण्डा पारित गरेको छ।
धरानको बहुप्रतीक्षित स्मार्ट बसपार्क निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको थिएन। यसअघि पनि पटक–पटक उद्घाटन र सञ्चालन मिति तोकिए तापनि बसपार्कसँग सम्बन्धित जग्गा विकास तथा कानुनी विवादका कारण प्रक्रिया स्थगित हुँदै आएको थियो। कार्यपालिकाले यसपटक असार १ गतेलाई उद्घाटन मिति तय गर्दै आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो।

बैठकले हाल सञ्चालनमा रहेको धरान–१ स्थित पुरानो अस्पताल परिसरको धरान स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको नगर अस्पताल सञ्चालन गर्ने निर्णय पनि गरेको छ। नगर अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गरी दरबन्दी व्यवस्थापनको प्रस्ताव आगामी नगरसभाबाट स्वीकृत गर्ने निर्णय गरिएको छ।
त्यसैगरी धरान–१३ को सर्दु जलाधार क्षेत्रका कारण रोक्का रहेका जग्गा तथा धरान–१७ स्थित विमानस्थल क्षेत्रका जग्गाधनीहरूले कार्यालयको प्राविधिक वा अन्य कारणले विगतमा कर बुझाउन नसकेको अवस्थामा चालु आर्थिक वर्षको असार मसान्तभित्र कर तिर्न आए जरिवाना छुटसहित कर असुल गर्ने निर्णय समेत गरिएको छ।
कार्यपालिका बैठकले आयोजना तथा कार्यक्रम कार्यान्वयन तथा दायित्व व्यवस्थापन, विद्यालयको स्तरवृद्धि र विषय थप, शिक्षक दरबन्दी मिलान, योजना सञ्चालन,संशोधित खरिद गुरुयोजना स्वीकृति लगायतका विषय पनि पारित गरेको छ।
यस्तै खत्रीधारास्थित दाहसंस्कार स्थलमा शवदाह मेसिन खरिद, आर्थिक वर्ष २०८३ र ०८४ का लागि आन्तरिक आय संकलन ठेक्का व्यवस्थापन, सामाजिक सुरक्षा अन्तर्गत डोरम्याट खाताको रकम जम्मा गर्ने व्यवस्था, विपद् व्यवस्थापन नीति–२०८२ तथा विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना ९२०८२–२०८७० स्वीकृत गर्ने निर्णय गरिएको छ।
बैठकले वृत्ति मार्गनिर्देशन सेवा इकाइ सञ्चालन कार्यविधि, टोल विकास संस्थासम्बन्धी कार्यविधि परिमार्जन, बन्द तथा सञ्चालनमा रहेका व्यवसायहरूको लागत कट्टा,बाटो मापदण्ड कायम तथा नामाकरण अनुमोदनका विषय पनि पारित गरेको छ।
त्यसैगरी साइट सेटब्याक, बाटो दर्ता राजस्व, मदन भण्डारी राजमार्गको सिमाङ्कन र नक्सा पाससम्बन्धी विषय, कर्मचारी सरुवा तथा अध्ययन बिदा, नगर शिक्षा योजना तर्जुमाका लागि विज्ञको पारिश्रमिक, स्वयंसेवक शिक्षक व्यवस्थापन तथा भोजपुर–सुनसरी समाजलाई जग्गा उपलब्ध गराउने प्रस्ताव समेत कार्यपालिकाबाट स्वीकृत भएका छन्।
उपमहानगरपालिकाले पारित निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित शाखाहरूलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।