
धरान : धरानमा दोस्रो खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता वैशाख १८ देखि सञ्चालन हुने भएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता वैशाख १८, १९ र २० गते सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिता धरान–१३ स्थित बहुउद्देश्यीय ब्याडमिन्टन कभर्ड हलमा आयोजना हुनेछ।
स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वैशाख १४ र १५ गते धरानभित्रका खेलाडीहरूका लागि छुट्टै प्रतियोगिता समेत सञ्चालन गरिने खेल संयोजक तेज बहादुर मेन्याङवोले बताए।
प्रतियोगितामा खुल्ला सिंगल पुरुष, सिंगल महिला, पुरुष डबल्स, महिला डबल्स, मिक्स डबल्स तथा भेट्रान उमेर समूहसहित विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा राष्ट्रिय,अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरका करिब ४५० भन्दा बढी खेलाडी सहभागी हुने जनाइएको छ।
प्रतियोगितामा प्रवेश शुल्क मेन्स सिंगलतर्फ १५०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने ओमेन्स सिंगलतर्फ १००० रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी मेन्स डबलतर्फ ३ हजार रुपैयाँ र ओमेन्स डबलतर्फ २ हजार रुपैयाँ प्रवेश शुल्क राखिएको छ। मेन्स डबलतर्फ विजेताले १ लाख २१ हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ भने ओमेन्स डबलतर्फ विजेतालाई ६६ हजार रुपैयाँ पुरस्कार तोकिएको छ। मेन्स सिंगलतर्फ विजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ भने ओमेन्स सिंगलतर्फ ४१ हजार रुपैयाँ राखिएको छ।
पुरस्कार विवरणअनुसार मेन्स सिंगल विजेताले नगद ५१ हजार, उपविजेताले २५ हजार ५ सय र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। ओमेन्स सिंगलतर्फ विजेताले ४१ हजार, उपविजेताले २० हजार ५ सय र तेस्रो हुनेले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यसैगरी मेन्स डबलतर्फ विजेताले १ लाख २१ हजार, उपविजेताले ६१ हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने ओमेन्स डबलतर्फ विजेताले ६६ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। मिक्स डबलतर्फ विजेताले ६६ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
भेट्रान सय प्लस डबलतर्फ विजेताले ६६ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सबै विजेता तथा उपविजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब २३ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिता सफल बनाउन विभिन्न संघ–संस्था, सहयोगी व्यक्ति, धरान उपमहानगरपालिका, विभिन्न वडाहरू, व्यवसायिक फर्म तथा कम्पनीहरूबाट सहयोग जुटाइने बताइएको छ। आयोजकले प्रतियोगिताले धरानमा ब्याडमिन्टन खेलको विकास, प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।


