
धरान: गोर्खा भूपूहरूको संयुक्त संगठन ‘गोर्खा चौतारी, यूनाइटिङ अल द गोर्खाज’ ले धरानको विकास, निर्माण र एकताको पक्षमा आफूहरू सधैं समर्पित रहेको बताउँदै संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ ।
हाल धरानका पत्रकार संगठनहरूले गोर्खा चौतारी सम्बन्धी विज्ञप्ती सार्वजनिक गरेपछि प्रतिक्रिया स्वरूप जारी गरिएको उक्त विज्ञप्तीमा, गोर्खाली समुदायको योगदान र धरानप्रतिको प्रतिबद्धतालाई नकारात्मक रूपमा नलिन आम सञ्चारकर्मीलाई आग्रह समेत गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘वि.सं. २०१० सालमा घोपा क्याम्प स्थापना भएपछि गोर्खाली परिवारहरु धरानको विकासमा निरन्तर लागि परेका छन् । विकास, निर्माण र सामाजिक योगदानमा हाम्रो तन, मन र धनको सहभागिता निरन्तर रहँदै आएको छ ।’
गोर्खा चौतारीको निर्माण धरान नगर र गोर्खा समुदायबीचको एकता, सम्मान र सहकार्यको प्रतीक भएको भन्दै उक्त संरचना धरान नगरलाई गौरवका साथ हस्तान्तरण गर्ने तयारी भइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकारहरूका विज्ञप्तीमा आएको टिप्पणीप्रति प्रतिक्रिया दिँदै संगठनले सामान्य गुनासोलाई ठूलो रुपमा लिएर अगाडि बढ्नु जायज नभएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘हामीले पत्रकारहरूलाई सम्मानका साथ कार्यक्रमका लागि निमन्त्रणा गरेका थियौं । तर अनुपस्थितिको सामान्य गुनासोलाई गलत अर्थ लगाई प्रचार गर्नु दुःखद विषय हो ।’
संयुक्त संगठनले लोकतान्त्रिक प्रणालीमा भिन्न मत राख्ने अधिकारलाई सम्मान गर्दै पनि विकास र सहकार्यको वातावरण कायम राख्न सबै सरोकारवालाको जिम्मेवारी रहेको उल्लेख गरेको छ ।
विज्ञप्तीमा धरानका नागरिक, पत्रकार, राजनीतिक दल र सम्पूर्ण सरोकारवालाहरूसँग हातेमालो गर्दै ‘धरान हाम्रो गौरव, हाम्रो घर’ भन्ने भावना बोकेर अघि बढ्ने प्रतिवद्धता दोहोर्याएको छ ।
गोर्खा चौतारी, यूनाइटिङ अल द गोर्खाजद्वारा जारी संयुक्त विज्ञप्तीमा गोर्खा भूपू सैनिक संघ भारतका तर्फबाट कर्ण बहादुर गुरुङ, गोर्खा भूपू सैनिक संघ ब्रिटेनका तर्फबाट पूर्ण प्रसाद लिम्बु र गोर्खा भूपू सैनिक संघ सिंगापुरका तर्फबाट तारानाथ लिम्बुले हस्ताक्षर गर्नुभएको छ ।


