
धरान: पहिचानको आधारमा राज्य पुनसंरचनाको माग गर्दै निरन्तर आन्दोलनमा होमिएका दलहरुले अहिले पनि आन्दोलनलाई निरन्तता दिइरहेका छन् । यसै क्रममा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले समेत दबाबमुलक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
सरकारलाई दबाब दिने उद्देश्यले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीको आयोजना गरेको थियो । सो अवसरमा बोल्दै पाटीका अध्यक्ष एवम् नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पहिचानको आन्दोलनले विस्तारै सफलता हात पार्दै गएको दाबी गर्नुभयो । उहाँले हरेक लडाई एकै पटक सफल नहुने बताउदै कोशी प्रदेश नामाकरणको खारेजीको आन्दोलनमा सरकारले वेवास्ता गरे पनि केवलकार खारेजीमा पहिचानवादीले सफलता हात पारेको बताउनुभयो ।
धरान १५ सदन सभा हलमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले हरेक व्यक्ति , जातजातिको आफ्नै संस्कार, सँस्कृति हुने भएकोले अहिले बनेको ७ प्रदेश नामकरण मधेश प्रदेशबाहेक अन्य प्रदेश राजा महेन्द्रले १४ जिल्लाको नामांकन गरेको भन्दा फरक नभएको बताउनुभयो । उहाले पहिचान आन्दोलनको यात्रा निरन्तर बढिरहेको बताउदै पहिचानको लडाई नथाकेको बताउनुभयो ।
उहाँले पहिचानको मुद्धालाई राजनीतिक रुपमा स्थापित गर्ने काम असफल नभएको बताउदै राजनीतिक दलहरुले पनि यसलाई अंगीकार गर्नै पर्ने बताउनुभयो । यो लडाई असफल नभई क्रमिक रुपमा सफलतातर्फ उन्मुख भएको दाबी समेत गर्नुभयो।
जसपाका धरान नगर अध्यक्ष ताजुव लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम अगाडि र्यालीको समेत आयोजना गरिएको थियो । कोशी प्रदेश खारेज गर, पुनः नामकरण गर, एकल जातीय नामकरण मान्दैनौँ, केबलकार खारेज गर, पहिचानवादी एक हौँ जस्ता नारा लगाएका थिए ।