
धरान: सानो कामले ठूलो सन्देश प्रवाह हुन्छ । सकारात्मक सोच लिएर अगाडि बढेको खण्डमा युवा पुस्तालाई सकारात्मक बाटोमा डोर्याउन सकिन्छ भन्ने अभिप्राय बोकेका धरानका युवाहरुले खेलकुदको माध्यमबाट युवालाई सकरात्मक सोचतर्फ अभिप्रेरित गने अभियान अनुरुप प्रतियोगितात्मक फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
देश निर्माणमा युवा पुस्ताको महत्वपूर्ण योगदान रहने कुरालाई आत्मसात गर्दै धरानका युवा श्री सुब्बाले स्वर्गीय माता पार्वती लिम्बुको स्मृतिमा धरानका विभिन्न क्लवलाई समावेश गरेर प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
पहिलो पटक आयोजना गर्न लागिएको सो प्रतियोगिता वैशाख ८ देखी धरान रङ्गशालामा हुने भएको हो । १३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिता आयोजना गर्नुको प्रमुख कारण युवाहरु कुलतमा नफसून, खेलकुदमा युवा पुस्तालाई आकर्षित गर्दै स्वच्छ र स्वास्थ्य समाजको निर्माणको लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको सुब्बाले जानकारी दिनुभयो ।
माओवादी निकट वाईसीयलका केन्द्रीय सचिव समेत रहनु भएका सुब्बाले आमाको स्मृति जीवन्तकालसम्म रहिरहोस् भन्ने उद्देश्य बोकेर प्रतियोगितालाई निरन्तरता दिनकै लागि प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्न लागिएको बताउनुभयो ।
उहाँलाई अन्य युवाहरुले साथ दिएका छन् । युवा पुस्तालाई एक ठाँउमा उभ्याएर सकारात्मक सन्देश प्रवाह गर्दै प्रोत्साहन गर्न पनि प्रतियोगिताको आयोजना गर्न लागिएको उनीहरुले बताएका छन् ।
नेचर क्लब धरानको आयोजना र वाईसीएल धरानको संमयोजनमा हुन लागेको प्रतियोगितामा धरानका २० वटा वडाहरूबाट छानिएका टिम र मोरङ, झापा, तेह्रथुम लगायतका जिल्लाबाट गरी १० टिमको सहभागी रहने छ । प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख र द्वितीय हुने टिमलाई ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यसैगरि व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई प्रति व्यक्ति १०/१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उत्कृष्ट कोच, राईजिङ्ग प्लेयरलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिताको प्रत्यक खेलको म्यान अफ दि म्याचलाई नगद १ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।