
धरान: सरकार ढल्यो भन्दै अफवाह फैलाउनेहरुलाई इंगित गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यो सरकार दुई पटक ढल्ने बताउनु भएको छ ।
धरानमा जारी विजिनेश एक्स्पोको शनिबार समापन गर्नुहुँदै उहाँले भन्नुभयो २०८३ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिँदा एक पटक सरकार ढल्छ र अर्को पटक २०८४ मंसिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएका बखत यो गठबन्धनको सरकार ढल्ने उहाँले बताउनुभयो ।
दुइ प्रमुख दलहरु एमाले काँग्रेसलाई खेलेर सत्तामा रमाउने माओवादी दोहोरो चरित्रको अन्त्यका लागि एमाले काँग्रेस गठबन्धन बनेको एमाले जनसंगठन संयन्त्रको प्रमुख समेत रहनु भएका ढकालले बताउनुभयो । उहाँले भन्नुभयो एमालेलाई धोखा दिएर फुत्त काँग्रेससंग टाँसिने र काँग्रेससंग अघाएपछि फेरी एमालेको काँधमा चढ्ने माओवादी प्रवृतिको उपज यो गठबन्धनको सरकार रहेको उहाँले बताउनुभयो ।
२०८४ को निर्वाचनमा एमाले काँग्रेस प्रतिदन्द्वी हो भन्ने दुवै पार्टीहरुलाई थाहा छ हामी सिंगल सिंगल प्रतिष्पर्धा गर्छौ एमालेले जिते काँग्रेस प्रतिपक्षमा बस्छ, काँग्रेसले जिते एमाले प्रतिपक्षमा बस्छ उहाँले भन्नुभयो तर यो गठबन्धनलाई सत्तोसरोप गर्ने र आजै ढलिहाल्यो, भोली ढल्छ भनेर भ्रम फैलाउनुको कुनै तुक नरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ढकालले फेसबुकभरी पानीनै पानी, युटुवभरी पानीनै पानी भएको धरानमा पानीको अभाव भन्दै केही व्यक्ति रित्तो गाग्री बोकेर सिंहदरबार छिरेको भन्दै धराने मेयरको प्रवृतिको आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो मैले धरानमा पानी खुवाँए भनेर हल्ला गर्ने अनि धरानलाई पानी दिनु पर्यो भन्दै खाली गाग्री देखाएर तमासा गर्नुको अर्थ नहुने उहाँले बताउनुभयो ।
नेपाल उद्योग व्यवसायी महासंघ धरान नगरले माघ २६ गते प्रारम्भ गरेको विजिनेश एक्स्पोको समापन १५ दिनपछि शनिबार धरान रंगशालामा गरिएको थियो ।
महासंघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एक्स्पोका संयोजक राजेश अग्रवालले गर्नुभएको थियो भने सञ्चालन सचिव चन्द्र सुवेदीले गर्नुभएको थियो ।