धरान: तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होछार २८६१ धरानमा धूमधामसँग मनाएका छन् । नेपाल तामाङ घेदुङ संघ धरान उपमहानगरको आयोजनामा भएको पर्वमा सबै जातजाति, धर्म सँस्कृति तथा राजनीतिक दलहरुको उपस्थिति रहेको थियो ।
धरानको भानुचौकमा आयोजना गरिएको सो कार्यक्रममा सबैले सोनाम ल्होसारको शुभकामना दिएका थिए । गरुड वर्षलाई बिदा गरी सर्प वर्षको स्वागत गरिने भएकोले यो पर्व तामाङ समुदायले हर्सोल्लासका साथ मनाउने गर्छन् ।
सोनाम ल्होछार १२ वर्ष चक्रअन्तर्गत मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी विभाजित छ । यसपटक सर्प वर्षको शुरुआत भएको छ । ल्हो अर्थात् वर्ग (वर्ष) र छार अर्थात् नयाँ भन्ने अर्थमा ल्होछारलाई नयाँ वर्षको रूपमा प्रत्येक बर्ष मनाइने गरिएको तामाङ घेदुङ सघका नगर अध्यक्ष सपन योन्जनले जानकारी दिए ।
यो उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने भएता पनि तामाङ समुदायमा विशेषगरी पाँच दिनसम्म घरघरमा उत्सव मनाइन्छ । तर पछिल्लो समय यो पर्व सार्वजनिक स्थलमा सबै एकै ठाउँ भेला भएर मनाउने प्रचलन बढ्दै गएको छ । यसले हरेक जातजातिलाई चाडपर्व सबै नेपालीले अपनत्व गर्दै गएको तामाङ घेदुङ संघका नेपाल तामाङ घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण लामाले जानकारी दिए । उनका अनुसार पर्वका अवसरमा गुम्बाहरूमा पूजा, छो प्रसाद वितरण, शुभकामना आदानप्रदान, मान्यजनबाट आशीर्वाद लिने, चेलीबेटी र इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक भोज र साँस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिने प्रचलन रहेको छ ।
सोनाम ल्होछारको महत्वलाई मध्यनजर राख्दै सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । पर्वको अवसरमा विहान संघले धरानको भानुचौकदेखि आफ्नो जातिय भेषभुषा डम्फू सहित अन्य जातिका सहभागितामा निकालिएको र्याली छाँताचौक सिहदेबी हुदै पुरानो बजारहुदै पुनः कार्यक्रम स्थलमा आएर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो भने राष्ट्रिय कलाकारद्वय प्रेम लामा र रन्जित लामासमेत बेजोड प्रस्तुति दिएका थिए ।