
धरान: धरान १३ मा रहेको कृषि उपज बजारमा विषादी मापन गर्ने उपकरण जडान गरिएको छ । सर्वसाधारणलाई स्वच्छ फलफूल तथा तरकारी उपलब्ध गराउने अभिप्रायले उपकरण जडान गरिएको हो ।
दिनप्रतिदिन विषादीयुक्त फलफूल तथा तरकारीजन्य वस्तुको प्रयोग बढिरहेको अवस्थामा उपकरण जडानपश्चात सर्वसाधारण उपभोक्ताले स्वच्छ फलफूल तथा सब्जी प्रयोग गर्न पाउने भएका छन् ।
विषादी प्रयोगमा नियन्त्रण गर्दै उपभोक्ता समक्ष स्वच्छ फलफूल तथा तरकारी पुर्याउने उद्देश्यले नेपाल सरकार अन्तर्गतको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत अवशेष दु्त विश्लेषण प्रयोगशाला इकाई धरान स्थित कृषि बजारमा सञ्चालनमा आएकोे हो ।
कृषकले उत्पादन गरेको कृषि सामाग्रीमा कति विषादी हालेको छ भन्ने कुरा कृषि सामाग्री यो प्रयोगशालाबाट चेकजाँच गरेपछि तुरुन्त थाहा हुने जनाइएको छ । यो प्रयोगशाला उद्घाटनसँगै सञ्चालनमा आइसकेको छ । यसको प्रयोगशालाको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले गर्नुभयो । उद्घाटन पश्चात प्रयोगशालाको अनुगमन पश्चात बोल्दै उपमेयर बेघाले यो प्रयोगशाला निर्माणपश्चात धरान तथा धरान बाहिरका उपभोक्ता सर्वसाधारणले विषादीयुक्त कृषि सामाग्री प्रयोगमा कमी आउने बताउनुभयो । प्राविधिकले कृषिजन्य सामाग्री टेष्ट गरेको एक घण्टामा खानयोग्य वा अयोग्य पत्ता लगाउने भएकोले यो प्रयोगशाला अत्यन्तै प्रभावकारी हुने बताउनुभयो ।
सो अवसरमा प्रयोगशालाका प्राविधिक रुपक रिजालले प्रयोगशालामा गरिने कामको विषयमा जानकारी दिनुभएको थियो यस प्रकारको प्रयोगशाला मुलुकमै पहिलो पटक २०७१ सालमा काठमाण्डौस्थित कालीमाटीमा शुरुवात गरिएको थियो । अहिले धरानसँगै देशका १२ स्थानका तरकारी बजारमा यो प्रयोगशाला सञ्चालनमा आएको जनाइएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गका बरिष्ठ बाली संरक्षण अधिकृत कृषकहरुले अज्ञानताका कारण विषादी प्रयोग गर्नै क्रम बढेकाले न्यूनिकरणका लागि त्यस्ता कृषि क्षेत्रको पहिचान गरी सोही स्थानमा पुगेर सचेतना कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।
प्रयोगशालासँगै कृषि बजारमा आएका कृषि सामाग्रीको विषादी चेकजाच गर्दै कृषकलाई विषादी विष हो औषधी होइन भन्ने कुरालाई मनन गराउन सचेतना कार्यक्रमको आयोजना गरिने कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।
पछिल्लो समय कृषिजन्य सामाग्रीमा विषादीको प्रयोग बढ्दै गएको छ । यसलाई न्यूनिकरण वा नियन्त्रण गर्न नसकेको खण्डमा भविष्यमा यसले सर्वसाधारणमा स्वास्थ्यमा समेत समस्या बनाउने भएकोले कृषि उपज बजारमा सञ्चालन भएको प्रयोगशालाले धरान लगायत आसपासका सर्वसाधारणले स्वस्थ सागसब्जी तथा फलफूल खान पाउने भएका छन् । यसले कृषिजन्य वस्तुमा प्रयोग गरिदै आएको विषादी न्यूनिकरणमा समेत ठूलो सहयोग पुग्ने अपेक्षा समेत राखिएको छ ।