
इटहरी: नेपाल पत्रकार महासङ्घ सुनसरीमा नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय पार्षद र प्रदेश प्रार्षदहरुलाई प्रेस युनियन र प्रेस चौतारी सुनसरीद्वारा संयुक्त कार्यक्रम गरी बधाई तथा शुभकामना व्यक्त गरेका छन।
इटहरीमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले नेपालका मिडिया धेरै शक्तिशाली रहेको बताउँदै उनले सरकार पत्रकारको पक्षमा रहेको स्पष्ट पारे । लोकतान्त्रिक व्यवस्था ल्याउनको लागी मिडियाको महत्त्वपूर्ण भूमिका रहेको बताउदै उहाँले मिडिया आलोचनात्मक बन्नुपर्ने बताएका छन् । मिडियाले सरकारको आलोचना गर्नैपर्ने भएपनि त्यसमा आग्रह झल्किन नहुने बताए ।
मन्त्री भण्डारीले लामो समय देखी अड्किएको मिडिया विधेयक कोशी प्रदेशमा पेश हुने तयारी रहेको बताउँदै सरकारले पत्रकारको भलाईको लागि काम गरिरहेको उल्लेख गरे ।
कार्यक्रमको बिशिष्ट अतिथी नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि अनवरत लड्ने बताउँदै थापाले समाचारको सत्यताले समाजलाई सही र सकारात्मक प्रभाव पार्ने प्रष्ट पारे ।
स्थानीय सरकारको आलोचना गरेको आधारमा पत्रकार असुरक्षित भएको विषयमा प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
स्वतन्त्र सेनानी हर्ष सुब्बा, प्रेस युनियन कोशी प्रदेश सभापती मिनकुमार श्रेष्ठ नवोदित, प्रेस चौतारी कोशी प्रदेश उपाध्यक्ष सुमन पुरी, पत्रकार महासंघ पुर्ब केन्द्रीय सदस्य अमर खड्का र नवनिर्वाचित पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले पत्रकारहरुको समस्या, सुरक्षा र समचार लेखेकै आधारमा स्थानीय सरकार प्रमुखले धम्की दिएको बिषयमा बोलेका थिए। उक्त कार्यक्रम प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुब ढकालको सभापतित्वमा भएको थियो।