धरान: पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघको केन्द्रिय पार्षद गोपाल दाहाललाई सामाजिक संजाल मार्फत धम्काएको प्रति धरानका राजनीतिक दलहरुले मेयर हर्क साम्पाङ विरुद्ध विज्ञप्ति जारी गरेका छन्।
दलहरुले बुधबार साँझ जारी गरेको संयुक्त विज्ञप्तिमा संविधानले नै प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता हरेक नागरिकलाई प्रदान गरेको छ। त्यसमा पनि सञ्चार क्षेत्रले हरेक नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई स्थापित गरिदिएको उल्लेख गरेको छ।
नेपालको संविधान २०७२ ले प्रदान गरेको मौलिक हक अन्तर्गत रहेर कुनै पनि व्यक्तिले आफ्नो विचार विवेक प्रयोग गरी कुनै पनि पार्टीलाई मतदान गर्ने अधिकार प्रदान गरेको छ ।
संविधानले नै प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता हरेक नागरिकलाई प्रदान गरेको छ। त्यसमा पनि सञ्चार क्षेत्रले हरेक नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई स्थापित गरिदिएको छ । नागरिकको सुचना पाउने अधिकारलाई कार्यान्वयन गर्दै लेखिएको समाचारकै आधारमा झोले पत्रकारको संज्ञा दिनु संविधान माथि नै ठाडो चुनौती हो। सञ्चारकर्मी पनि यो देशका नागरिक हुन् । नागरिकको हैसियतमा कुनै दल वा राजनितिक पार्टी प्रतिको आस्था, वैचारिक समर्थन गर्नु उनीहरुको पनि अधिकार हो । नागरिकको अधिकारलाई कुण्ठित गर्दै समाचार लेखेकै आधारमा धरानका संचारकर्मी माथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिदै आएको अभिव्यक्तिहरु प्रति धरानका राजनितिक दलहरु दुःख व्यक्त गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ।
धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता मार्फत लेखिएको “हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान भन्ने शिर्षकको हिमाल खबरमा छापिए पछि धरान उपमहानगरपालिकाका नगर प्रमुख राईले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई समेत जोड्दै महासंघको केन्द्रिय पार्षद गोपाल दाहाललाई सामाजिक संजाल मार्फत धम्काएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। यस गम्भिर विषय उपर धरानका राजनितिक दलहरु मुकदर्शक भएर बस्न र टुलुटुलु हेरिरहन सक्दैन ।
कुनै पत्रकारले लेखिएको समाचारमा जो कसैको चित्त नबुझेमा सो छानबिन र सत्य तथ्य बुझ्न प्रेस काउन्सिल जस्ता राज्यका सरोकारवाला निकाय हुँदा हुँदै एउटा स्थानीय सरकार प्रमुख जस्तो व्यक्तिले समाचार लेखेकै भरमा सामाजिक संजाल मार्फत धम्काउने थर्काउने र आफ्ना समर्थकबाट राज्यको चौथो अंगको रुपमा रहेका मुलधारका सञ्चारकर्मीलाई तल्लो स्तरको धम्की दिन लगाउने जस्ता अमानविय, घृणित र लोकतन्त्र र संविधान विपरित गरिएका यस्ता घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछौं ।
मुलुकका हरेक परिवर्तनका आन्दोलनमा अग्रपंक्तिमा रहने सञ्चाररकर्मीहरुलाई अपमानित गरेको राजनितिक दलहरुलाई पाच्य हुन सक्दैन । तसर्थ धरान उपमहानगरपालिकाको नेतृत्वलाई आफ्नो कार्यकाल भरि होस नगुमाईकन पदीय मर्यादामा रही कार्य गर्न समेत हामी सचेत गराउँदछौं । साथै
सञ्चारकर्मी माथि भएका यस्ता खाले धाकधम्कीबाट कति पनि विचलित नभई सत्य तथ्य समाचार प्रकाशनमा तपाईहरुको साथमा धरानका सम्पुर्ण राजनितिक दलहरु रहेको विश्वास दिलाउन चाहन्छौं
स्थानीय प्रमुख जस्तो व्यक्तिले संचारक्षेत्र प्रतिको अभिव्यक्ति, समर्थकहरु मार्फत गरिने धाकधम्की पुर्ण व्यवहारहरु बन्द गर्दै नेपाल पत्रकार महासंघ सुनसरी संग समन्वय गर्दै स्थानीय सरकार र सञ्चारकर्मी सँग सुमधुर सम्बन्ध कायम गरि धरानको समग्र विकाश र समृद्धिको लागि भएका सामुहिक प्रयासहरुको सन्देश प्रवाह गर्न र गराउन बिज्ञप्तिमा अनुरोध गरेको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्तरुपमा विज्ञप्ति जारी गरेको हो।