धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा गत बर्षको तुलनामा चहलपहल संगै व्यापार पनि घट्दै गएको छ। सिजन अनुसारका दैनिक उपभोग्य वस्तु किनबेचमा बृद्धि भईरहने तर यस बर्ष भने कृषि बजारमा व्यापारमा निकै कमी देखिएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनु हुन्छ।
यहाँ तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट ठुलो संख्यामा व्यापारीे किनबेचका लागि आउने र आफ्नो ठाँउमा भएको उत्पादित बस्तु ल्याउने गरेकोमा अहिले उहाँका अनुसार व्यापारीहरुको संख्या घटदै गएको छ।
धरान कृषि बजारबाट बढी कारोबार खसी, बोका,अलैची, आलू, अदुवा, आँप, टमाटर लगायत दैनिक उपभोग्य बस्तु बिक्रि वितरण हुने गरेको छ ।
धरान कृषि उपज बजारबाट प्रत्येक वर्ष औसतमा रु.५ अरबको दैनिक उपभोग्य वस्तुको कारोबार हुने गरेको छ । विगत बर्षको तुलनामा यस वर्ष धरान कृषि बजारमा हुने कारोबार घट्दै गएको कारण दैनिक उपभोग्य बस्तु व्यापार व्यावसाय गर्ने किसानहरुको लागि सरकारको सहयोग अपरिहार्य भएको भट्टराई बताउनुहुन्छ ।
पहाडी भेग धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, पाँचथर, ताप्लेजुङलगायत नेपालका अधिकांश ठाउँ र भारत भुटान लगायतका ठाउँबाट व्यापारी आउने गरेकोमा पछिल्लो समय भने कमी भएको उहाँले बताउनुभयो ।
विगत ३८ बर्ष देखि धरान कृषि बजारमा आलु, प्याज, टमटर लगायतको व्यापार गर्दै आउनु भएका लालु चौधरी दिनप्रतिदिन कृषि बजारको व्यापार खस्किदै गएको र विगतका बर्षहरुमा चाडपर्व आउनु १ महिना अगाडी देखि नै कृषि बजारमा कृषक र व्यापारी भरिभराउ हुन्थ्यो , २०७७ सालको कोरोना भाइरस र लकडाउनको कारण त्यहीँ समयबाट व्यापारमा गिरावट आउन थाल्यो । जुन समय गाउँ घरका मान्छे पनि व्यापारको लागी शहर छिरे तर कोरोना सुरु भएसंगै धेरै व्यापारी गाउँ घर नै फर्केको कारण पनि कृषि बजारमा व्यापार घट्दै गएको बताउनुहुन्छ ।
उहाँले बिगतका बर्षहरुमा ५० क्विन्टल भन्दा बढी कृषि बजारबाट दैनिक उपभोग्य बस्तु टमाटर, प्याज, आलु, कोपी,मुला,भट्मासलगायत खाद्यन्न बस्तु साग सब्जी बिक्रि गर्दै आउनु भएकोमा यस बर्ष भने दैनिक ३० क्विन्टल मात्र बिक्रि गर्दै आउनु भएको बताउनुभयो ।
उहाँका अनुसार बिगतका बर्षहरुमा फुलकोपी मात्र ४० क्विन्टलसम्म आउँदा मज्जाले बिक्रि हुने गरेको अहिले भने १०, १५ क्विन्टल आउदा पनि बिक्रि हुन गाह्रो हुने फालाफाल हुन्छ व्यापार छैन गाह्रो छ । अहिले धनकुटा मोरङ् लगायतका कृषकहरुबाट सामान खरिद गरि बिक्रि गर्दै आउनु भएको बताउनुभयो । पहिले दिनै भरि कृषि बजारमा व्यापार हुने गरेको अहिले भने बिहान ४ बजे देखि ७ बजेसम्म मात्र व्यापार हुने गरेको छ ।
कृषकबाट व्यापारी बनेका धनकुटाका खेम लामिछाने विगत १२ बर्षदेखि कृषि क्षेत्रमा व्यापार गर्दै आउनु भएको बताउनुभयो । ८ कठ्ठा जमिनमा साग सब्जीबाट कृषि पेशामा प्रबेश गर्नु भएको उहाँ अहिले व्यापारी बनेपछि निकै फाइदा भएको बताउनुभयो । दैनिक रुपमा धरान कृषि बजारमा २० क्विन्टल टमाटर विक्रि गर्दै आएको बताउ छन।
उहाँले भन्नुभयो , गत बर्षहरु भन्दा व्यापारमा कमी आएकोे छ , तर दैनिक उपभोग्य बस्तु साग सब्जी लगायतका बस्तुको बिक्रि मुल्य तोकिएको छैन विक्रि मुल्य तलमाथि भएपनि बर्षेनी सबै खर्च कटाएर पनि १० लाख बढी मज्जाले नाफा हुने गरेको उहाँले बताउनुभयो ।
बिगत ३५ बर्ष देखि धरान कृषि बजारमा व्यापार गर्दै आउनु भएका चण्डेश्वरी चौधरीका अनुसार व्यापार पुरै घट्यो बजारमा नयाँ सटर भाडामा लाग्न छोड्यो पुराना सटर समेत सबै बन्द हुन थाल्यो ब्यापारी संग पैसा छैन व्यापार छैन, महङ्गी उस्तै खर्च बढी छ, सबै ब्यापारीहरुको व्यापार खस्किदै गएको छ । पहिले कृषि बजारबाट ४० क्विन्टल सम्म आलु, टमाटर, प्याज, लगायत हरियो तरकारी बिक्रि गर्दै आउनु भएको उहाँले अहिले मुस्किल्ले २० क्विन्टलसम्म विक्रि हुने गरेको बताउनुभयो ।
भुटान,चाइनलगायतका ठाउँहरुबाट खरिद गरेको आलु प्याज अहिले पहाडी भेग , धनकुटा , भोजपुर, तेह्रथुम , पाचथर लगायतका ठाउँहरुमा विक्रिका लागि पठाउने गरेको उहाँले बताउनुभयो ।
कृषि उपज बजारका व्यावसायीहरुका अनुसार धरानमा अहिले कृषि, उद्योग लगायतका व्यापार घट्दै गएको छ जसमा आर्थिक क्रियाकलाप नै सुस्त रहेको उहाँहरु बताउनुहुन्छ। गत बर्षहरुमा चाडपर्व आउन एक महिना बाँकी हुदा दैनिक उपभोग्य वस्तु किनबेचमा भिड् लाग्ने गरेको थियो भने यस बर्ष भने चाडपर्व नजिकिए पनि सुनसान रहेको व्यवसायीहरुको भनाई छ ।
भिडियो पनि हेर्नुस: