नेपालमा बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल
सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा प्रतियोगिताको रूपमा खेलिने गरे पनि नेपालमा भने यो खेल खेलिदैन ।
शुक्रबार धरान- ७ स्थित मधुशाला चिया पसलमा चतरा हाइकिङ समूहले पत्रकार सम्मेलन गरि यो खेलको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यो खेल प्रतियोगात्मक रुपमा खेलाउने भएको छ।
नदी, तलाउ र पोखरीमा चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ । बाल्यकालमा पौडी खेल्न जाँदा, गाइ वस्तु चराउन जाँदा मनोरञ्जनको रुपमा खेल्ने गरे पनि नेपालमा भने प्रतियोगात्मक रुपमा खेल नखेलाईनुको साथै यो नेपालको ऐतिहासिक तथा मौलिक खेल भएपनि यसको प्रवर्द्धन हुन नसेको बेला चतरा हाइकिङ समूहले कार्तिक २८ गते भाइटिकाको अघिल्लो दिन गोबर्धन पूजाको दिन प्रतियोगिताको रुपमा खेलाउने चतरा हाईकिङ्ग संस्थापक सदस्य युवराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार पानीको सतहमा हानेको ढुङ्गा जसको जति बढी उफ्रिएर दूरी पार गर्छ त्यसको आधारमा विजय घोषणा गरिने छ। कुनै पनि नेपालमा खेलिने खेलहरुमा खेलको सामाग्री विदेशबाट ल्याउनु पर्ने उदाहरण रहेता पनि यो खेलमा आफ्नै नदिनाला र ढुंगाको प्रयोग गर्न मिल्ने हुंदा यसले पर्यटन प्रवर्द्धनमा समेत राम्रो टेवा पुर्याउने बताएका छन।
यो प्रतियोगितामा महिला र पुरुष दुवैले सहभागिता जनाउन पाउने भएका छन् । महिला र पुरुषलाई छुट्टाछुट्टै समूहमा खेलाइने प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार,३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजक संस्थाका सदस्य भिषण राईले बताए। युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नाराका साथ बराहक्षेत्र वडा नम्बर १ को सहयोगमा सोही वडा अवस्थित चतरा नहरमा पहिलोपटक आयोजना गर्न लागिएको सो प्रतियोगितालाई विगतमा संस्थागत गरेर लाने सोच राखिएको सदस्य राईले जानकारी दिएका छन ।
पत्रकार सम्मेलनमा आयोजक सदस्य समेत रहेका सँचारकर्मी नवराज विष्टले यो खेल नौलो भएपनि पुनरावृत्तिको रुपमा लिइएको छ । नेपालमा प्रतियोतात्मक रुपमा नखेलाइए पनि मनोरञ्जनको रुपमा निरन्तर रुपमा खेलिने खेल भएकोले यसको प्रवर्द्धनका लागि भएपनि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराउनु भयो ।