धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।
स्कुलका प्राचार्य सन्जीव वान्तवा राईको अध्यक्षतामा सम्पन्न तालिममा अभिभावकहरूको बाक्लो उपस्थिति थियो । तालिममा २२ जना अभिभावकहरू सहभागी थिए । अभिभावकहरूको निम्ति अतिरिक्त सीपमूलक प्रशिक्षण साथै तालिम पछि स्वरोजगारको लागि प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको प्राचार्य राईले जानकारी दिए ।
खाद्य निरीक्षक बादल चेम्जोङ र खाद्य विश्लेषक बिमला तामाङले तालिमको सहजीकरण गरेकी थिइन् । तालिममा सहभागी अभिभावकहरूलाई दुवै प्रशिक्षकहरूले छुट्टाछुट्टै सत्र गरी खाद्य स्वच्छता, खाद्य ऐन, नियमावली, उद्योग दर्ताको प्रारम्भिक प्रक्रिया तथा अचार सम्बन्धमा दुवै सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागी अभिभावकहरूले दुवै शाकाहारी र मांसाहारी अचार बनाएका थिए ।
तालिमको समापनमा अभिभावक श्रीस्ती लिम्बू र पुष्पकला लिङ्देनले आ–आफ्नो अनुभव बाँडेका थिए । स्कुलका सह प्राचार्य कुर्मित बान्तवा (लेप्चा)ले सहभागी अभिभावकहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरेकी थिइन् ।