राष्ट्रिय समाचार

धरानमा आयोजित प्रभातफेरीमा प्रेसमाथि ‘आर्थिक नाकाबन्दी’ गरेको आरोप


धरान: विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले धरानमा प्रभातफेरी आयोजना गरेको छ।
मे ३ को अवसरमा पारेर गरिएको उक्त कार्यक्रममा जिल्लाभरका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। छाताचोकबाट सुरु भएको प्रभातफेरी भानुचोक पुगेर समापन भएको थियो।
प्रभातफेरीमा सहभागीहरूले “शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन” भन्ने मूल नारासहितका ब्यानर प्रदर्शन गरेका थिए।
कार्यक्रमका सहभागीहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको भौतिक सुरक्षा तथा सूचनाको हकको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले सरकारले निजी मिडियामा दिँदै आएको विज्ञापन रोक्ने निर्णयले सञ्चार क्षेत्र गम्भीर आर्थिक संकटमा परेको बताए। उनले यसलाई “आर्थिक नाकाबन्दी” को संज्ञा दिँदै यस्तो नीतिले सञ्चार गृहहरूको वित्तीय अवस्था कमजोर बनाएको र पत्रकारहरू प्रत्यक्ष प्रभावित भएको उल्लेख गरे।
उनका अनुसार आर्थिक दबाबका कारण धेरै सञ्चार संस्थामा पत्रकारहरूले समयमै तलब तथा सेवा–सुविधा नपाउने अवस्था सिर्जना भएको छ। साथै, स्वतन्त्र प्रेस प्रवर्द्धनका लागि स्पष्ट सरकारी नीति अभाव रहेको भन्दै उनले असन्तुष्टि जनाए।
सुब्बाले पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरूले परम्परागत मिडियाभन्दा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यसले मूलधार पत्रकारितालाई कमजोर बनाउने खतरा रहेको बताए।
त्यस्तै, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्लेले प्रेसमाथि बढ्दो दबाबप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए। उनले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेको सरकारले नै अहिले त्यसको विपरीत काम गरिरहेको दाबी गरे।
काफ्लेले निजी मिडियामा विज्ञापन रोक्ने निर्णयलाई पनि “आर्थिक नाकाबन्दी” भन्दै यसले श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा कमजोर बनाएको बताए। उनले प्रेस सधैं सत्ताको प्रतिपक्षका रूपमा रहने र गलत कामको आलोचना गर्नु पत्रकारिताको धर्म भएको स्पष्ट पारे।
“प्रेसमाथि आक्रमण सुरु हुनु नै सत्ताको पतनको संकेत हो,” उनले चेतावनी दिँदै सबै पत्रकारलाई एकजुट हुन आह्वान गरे।
यसैगरी, प्रेस सेन्टर सुनसरी अध्यक्ष तीर्थ कार्कीले संघीय सरकारले मन्त्रालयहरूबाट सूचना प्राप्त गर्न पत्रकारहरूलाई झन् कठिन बनाउँदै लगेको आरोप लगाए। उनले काठमाडौंमा बस्ती भत्काउने घटनामा रिपोर्टिङ गर्न गएका पत्रकारहरूलाई अवरोध गरिएको उल्लेख गर्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरे।
बालबालिका र वृद्धवृद्धाजस्ता संवेदनशील समूहको पीडा अभिलेखीकरण गर्नसमेत रोक लगाइनु गम्भीर विषय भएको उनले बताए।
कार्कीले सरकारका गतिविधि निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाउँदै अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न सबै पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी पत्रकारहरूले स्वतन्त्र प्रेसबिना लोकतन्त्र कमजोर हुने चेतावनी दिँदै प्रेस स्वतन्त्रताको संरक्षणका लागि साझा संघर्ष आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

छुटाउनुभयो कि ?

राष्ट्रिय समाचार

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा काफ्ले बिजयी

धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । सुनसरीको
राष्ट्रिय समाचार

देशमा क्रमश आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताउनुभएको छ ।