
धरान: साहसिक खेल पर्यटनमा नयाँ आयाम थप्ने उद्देश्यसहित धरानमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रिमियर लिग आयोजना हुने भएको छ।
प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोपटक “नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग एनपिएल” आयोजना गर्न लागिएको जानकारी दिएको हो। प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगिता धरान ४ स्थित छोटीमोरङबाट फ्लाईट भएर ल्याण्ड धरान १४ स्थित खत्री धारा देखि उत्तर बेलगाछी पश्चिममा हुनेछ ।
लिग अन्तर्गत अन्तर्राष्ट्रिय खुल्ला, पुरुष, महिला तथा राष्ट्रिय पुरुष र महिला गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा भारत, चीन, श्रीलङ्का, मलेसिया लगायत युरोपेली देशका खेलाडीहरू सहभागी हुनेछन्। साथै १८औं एसियाली खेलकुदका पदक विजेता खेलाडीहरू समेत प्रतिस्पर्धामा उत्रिने संघका अध्यक्ष भुपाल राईले जानकारी दिए।
प्रतियोगिताका विजेतालाई नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ। खुल्ला विधामा विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रोले ७५ हजार प्राप्त गर्नेछन्। खुल्ला पुरुष टिमतर्फ विजेताले रु ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार पाउनेछन्।
महिला विधामा विजेताले ४० हजार, उपविजेताले २५ हजार र तेस्रोले १५ हजार प्राप्त गर्नेछन्। राष्ट्रियतर्फ पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन् भने महिला विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन्।
आयोजकका अनुसार प्रतियोगिताले साहसिक खेलमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। संघका अनुसार नेपालमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ खेलको इतिहास चार दशकभन्दा पुरानो भए पनि व्यवस्थित लिग प्रणाली भने पहिलोपटक सुरु गर्न लागिएको हो।
२०६४ साल माघ ४ गते राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत दर्ता भएको संघले प्रशिक्षण, प्रतियोगिता र पूर्वाधार विकासमा निरन्तर काम गर्दै आएको छ। संघले ७औं, ८औं र ९औं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको छ भने २०७२ सालमा धरानमै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो।
अन्तर्राष्ट्रिय स्तरमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। १८औं एसियाली खेलकुदमा नेपाली पुरुष टिमले रजत पदक जित्दै २० वर्षपछि ऐतिहासिक सफलता हात पारेको थियो।
संघले नयाँ लिगमार्फत खेलाडी उत्पादन, व्यावसायिकता विकास तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई थप सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ। प्रतियोगिताको विस्तृत तालिका, सहभागी टिम तथा प्राविधिक पक्षबारे छिट्टै सार्वजनिक गरिने बताइएको छ।


