गोधली रनिङ कप फुटबल प्रतियोगिता भोली शनिवार माघ १३ देखी सुरु हुने भएको छ । धरान उपमहानगर अन्तर वडा प्रतियोगिताको २४ औँ संस्करण यसपालि गोधुली टेस्टि टेस्टी नुडल्स फुटबल प्रतियोगिताको रूपमा हुँदैछ ।
माघ २७ गते सम्म सञ्चालन हुने प्रतियोगिता धरान-१६ स्थित धरान रङ्गशालामा २ बजे उद्घाटन खेल वडा ५ र वडा ७ बिच हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिश केसीले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका वडा १७ का अध्यक्ष मनोज भट्टराईले गर्ने छन् । उपाध्यक्ष केसीले भने ‘बिजेता र उपबिजेताको पुरस्कार राशि बढाउने भनेका थियौँ तर, आर्थिक मन्दीका कारण बढाउन नसकिएको दुःखका साथ जानकारी गराउँदछौँ ।’
स्थानीय प्रतिभावान् खेलाडीहरूको क्षमता उजागर गराउन अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबको भनाई छ ।
प्रतियोगिताको विजेतालाई रनिङ कपसहित १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । उपविजेताले ७५ हजार रुपैयाँ पाउने छ ।
व्यक्तिगत पुरस्कारमा बेस्ट प्लेयरले १५ हजार, हाईस्कोर ७ हजार ५ सय, बेस्ट डिफेन्डर उदीयमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरलाई जनही ५ हजार ५ सय प्रदान गरिनेछ ।
प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गर्ने पत्रकारलाई समापनमा सुवास राई स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।
धरान-१८ का वडा अध्यक्ष नरेन्द्र कुमार राई (प्रवीण)ले मातापिताको नाममा विजेता र उपविजेता पुरस्कार राशिमा २५/२५ हजार रुपैयाँ प्रदान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गोधुली फुटबल प्रतियोगिता २०५० देखी सुरु भएको हो ।