धरान उपमहानगरपालिका वडा नम्बर – ५ अन्तर्गत बर्षौदेखि एउटै वडाको दुई वटा गाउँ सम्बन्ध विच्छेदझै थियो । वारि र पारि रहेका दुवै गाउँ एउटै वडामा भएपनि बीचमा भएको अँधेरी खोलाका कारण घुमेर जाँदा एक घण्टादेखि डेढघण्टामा पुग्न सकिन्थ्यो तर अहिले त्यस ठाउँमा झोलुङगे पुल निर्माण भएपछि ती दुई गाउँ विच सम्बन्ध विस्तार भएर एक आपसमा खुशी देखिए ।
सुनसरी जिल्ला धरान उपमहानगरपालिका सुगम स्थलभित्र पर्छ तर यही उपमहानगरपालिकाका वडाहरु एक वडाबाट अर्को वडामा पुग्न घण्टौ लाग्छ भन्दा सायदै पत्यार नलाग्ला तर धरान उपमहानगरपालिकाको वडा नं. ५ मा रहेका आपगाँछी र ठिंगाबारी जोड्ने खोलामा पुल बनन्दा सर्वसाधारणले यस्तै नियति भोगे । एउटै वडाका दुई गाउँबीचका सर्वसाधारण चिनजान समेत थिएन । तर अहिले झोलुङे पुल निर्माण भएपछि भने यी दुई गाउँको सम्बन्ध नजिकिएको छ भने आउजाउ समेत बढेको छ ।
यो पुल निर्माणले सर्वसाधारणलाई सहजता बनाएको धरान ५ का वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो । उहाँले एडिवीको बजेटबाट चाडै सडक चौडा बनाउने बताउदै सडक बनाउने प्रक्रियाको पहिलो चरणको काम शुरु भएको बताउनुभयो।
भौगौलिक रुपले ठूलो वडा रहेको भएपनि यस ठाउँको विकास हुन नसकेको बेला झोलुङ्गे पुल निर्माणले सर्वसाधारणको जीवनयापन सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने प्रदेश सांसद रमेश बस्नेतको भनाई रहेकोछ ।
त्यसैगरि आज शुक्रबार प्रमुख अतिथि संघीय सरकारका शिक्षा , विज्ञान प्रविधि मन्त्री अशोक कुमार राईले उद्घाटन गरेपछि मन्त्री राईले आफ्नो शुभकामना मन्तब्यमा सार्वजनिक चिजको संरक्षणका लागि सबै लाग्नु सबैको दायित्व भएकोले यसको संरक्षणमा सबै जुट्न स्थानीय सरकारको पनि दायित्व रहेको बताउनुभयो ।
आपटार तथा ठिंगाबारीमा अधिकांश सर्वसाधारण कृषि पेशामा आश्रित छन् । यो पुल नहुदा धरान बजारसम्म आफूले उत्पादन गरेको कृषि समाग्री लान समेत अत्यन्तै कष्टकर थियो भने विद्यालय जाने विद्यार्थीहरुलाई बाढीको समयमा समस्या थियो । यहाँका अधिकांश बालबालिका धरान उपमहानगरपालिकाको विभिन्न विद्याजलयमा अध्ययनरत रहेका छन् । अहिले भने यो ठाउँमा झोलुंगेपुल निर्माण भएको छ । निर्माण भएको यो झोलुंगे पुल सायदै धरानमा बनेका झोलुंगेपुलको तुलनामा सबै भन्दा लामो छ । यो पुलको लम्बाई २ सय ३३ मिटर रहेको छ ।
यी दुई गाउँ जोड्ने पुल ०७८ साल असार १० गतेदेखि निर्माण शुरु भएको थियो भने सम्पन्न दुई बर्षपछि अर्थात २०८० वैसाख १० गते सम्पन्न भएको थियो । सो झोलुङ्गे पुल पूर्व सघिय सांसद जयकुमार राइको पहलमा नेपाल सरकार शहरी बिकास मन्त्रालय स्थानीय पुर्वाधार विकास पुल महाशाखा अन्तर्गत निर्माण भएको हो । पुलको निर्माण सम्पन्न हुदासम्म सम्पूर्ण १ करोड ८ लाख ४२ हजार ९ सय १५ लागत लागेको निर्माण समितिले जनाएको छ ।
उक्त झोलुंगे पुल उद्घाटनमा १ नम्बर प्रदेशका पुर्व सभामुख प्रदिप भण्डारी र धरान उपमहानगरपालिका का मेयर हर्क साम्पाङ समेतको उपस्थिति रहेको थियो ।