धरान विशेष

धरान सडक आश्रित मानव तथा बालबालिकामुक्त नगर घोषित

धरान सडक आश्रित मानव तथा बालबालिकामुक्त नगर घोषित

धरान: धरान उपमहानगरपालिका कोशी प्रदेशकै पहिलो सडक आश्रित मानव तथा बालबालिकामुक्त उपमहानगर घोषित भएको छ। कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले शुक्रबार आयोजित कार्यक्रममा धरानलाई औपचारिक रूपमा उक्त घोषणा गरेकी हुन्।

घोषणाका क्रममा मन्त्री तिम्सिनाले कोशी प्रदेशमा सडक आश्रित मानव तथा बालबालिकामुक्त घोषणा हुने धरान पहिलो उपमहानगरपालिका भएको बताइन्। उनले धरानबाट सुरु भएको अभियानको सकारात्मक सन्देश प्रदेशका सबै स्थानीय तहसम्म पुग्ने विश्वास व्यक्त गरिन्।

मन्त्री तिम्सिनाले पछिल्लो समय समाजमा संस्कार, संस्कृति र नैतिक शिक्षाको महत्व घट्दै गइरहेको उल्लेख गर्दै घरपरिवारबाटै नयाँ पुस्तालाई नेपाली मौलिक संस्कार र संस्कृति हस्तान्तरण गर्नुपर्ने बताइन्। जातजाति, भाषा र समुदायभन्दा माथि उठेर मानवीय एकता कायम गर्न आग्रह गर्दै उनले धरानलाई अझ सभ्य र सुसंस्कृत सहर बनाउन सबै नगरवासी एकजुट हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रमको अध्यक्षता गरेका धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले यो अभियान कुनै एक जनप्रतिनिधिको मात्र नभई सम्पूर्ण धरानवासीको साझा अभियान भएको बताए।

उनले नगर घोषणा गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नु मुख्य विषय भएको बताए। सडकका किनारा तथा पेटीमा बसेर माग्नुपर्ने र बिरामी अवस्थामा बेवारिसे भएर सडकमा सुत्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

सडकमा सहयोगापेक्षी वा बिरामी अवस्थामा रहेका व्यक्ति भेटिए तत्काल उद्धार गरी आवश्यक व्यवस्थापन गरिने बेघाले बताए। त्यस्ता व्यक्तिको अवस्था पहिचान गरी परिवार खोज्ने, परिवार भेटिएकालाई घर फर्काउने, बालबालिकालाई विद्यालय पठाउने र परिवार पत्ता नलागेकालाई मानव सेवा आश्रममा व्यवस्थापन गरिने उनको भनाइ थियो।

‘धरानका कुनै पनि चोक र गल्लीमा सडकमा आश्रित मानव नभेटिने अवस्था सिर्जना गर्ने हाम्रो प्रतिबद्धता हो,’ उनले भने, ‘यस अभियानलाई सफल बनाउन धरानवासी, विभिन्न संघसंस्था, प्रहरी प्रशासन र सरोकारवाला निकायको निरन्तर सहयोग आवश्यक छ।’

घोषणाका क्रममा उठेका आशंका र प्रश्नलाई सम्बोधन गर्दै बेघाले घोषणा गर्नु मात्र पर्याप्त नहुने भन्दै यसको प्रभावकारी कार्यान्वयनमा उपमहानगरपालिका पछि नहट्ने बताए। घोषणापत्र प्राप्त भइसकेको अवस्थामा अभियानलाई परिणाममुखी बनाउन सबै नगरवासी सक्रिय हुनुपर्नेमा उनले जोड दिए।

अभियानमा सक्रिय सहभागिता जनाउने महिला सञ्जालका प्रतिनिधिलगायत विभिन्न सामाजिक संघसंस्थालाई उनले धन्यवाद दिए।

अभियान अन्तर्गत धरानका विभिन्न स्थानबाट मंसिर १० गते सम्म सडकमा आश्रित १६५ जनाको उद्धार गरी धरान–१६ स्थित मानव सेवा आश्रममा व्यवस्थापन गरिएको सामाजिक विकास महाशाखा प्रमुख अनन्त राईले बताए ।मानव सेवा आश्रम धरानमा स्थापना भएदेखि हालसम्म २६२ जना सडक आश्रित मानवको उद्धार गरिएको समेत महाशाखा प्रमुख राईले जानकारी दिए।
नगर घोषणा भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि सडकमा सहयोगापेक्षी अवस्थामा रहेका व्यक्तिको नियमित पहिचान, उद्धार, पारिवारिक पुनर्मिलन र पुनःस्थापनालाई निरन्तरता दिनुपर्ने चुनौती उपमहानगरपालिकासामु रहेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।