
धरान: सुनसरीको बराहक्षेत्रमा दुई महिलाले शुक्रबारदेखि सातदिने निराहार भू–तपस्या सुरु गरेका छन्।
बराहक्षेत्र नगरपालिका–२ पुनर्वासस्थित आदर्श सामुदायिक वनको नवनिर्मित भवन परिसरमा योगिनी पवित्रादेवी श्रेष्ठ र कृष्णा चौधरीले भू–तपस्या सुरु गरेका हुन्।
भू–तपस्याको सुरुवात कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले तपस्वीद्वयलाई फूलमाला र अबिर लगाएर गराएकी हुन्।
कार्यक्रममा मन्त्री परियारले तपस्वीद्वयको साहस र त्यागको प्रशंसा गर्दै महिलाले चाहेमा जुनसुकै त्याग र तपस्यामार्फत संसार बदल्ने आँट गर्न सक्ने बताइन्। ‘आफू बदलिए संसार बदलिन्छ’ भन्ने प्रणका साथ तपस्या सुरु गरेकोमा उनले तपस्वीद्वयको साहसलाई सलाम गरिन्।
मनोक्रान्ति विश्व परिवारका प्रणेता गुरुदेव डा। योगी विकाशानन्दका शिष्यद्वय पवित्रादेवी र कृष्णाले सात दिनसम्म बन्द खाडलभित्र बसेर ध्यान तथा तपस्या गर्ने आयोजकले जनाएको छ।
‘संसार बदल्नु छ,सुरु आफैँबाट गर्नु छ’ भन्ने मूल नाराका साथ विकाशानन्द फाउन्डेसन विश्व परिवार कोशी प्रदेश कार्यसमिति र बराहक्षेत्र नगर कार्यसमितिको संयुक्त आयोजनामा कार्यक्रम भइरहेको नगर कार्यसमिति अध्यक्ष सपना सिलवालले जानकारी दिइन्।
भू–तपस्याका लागि लम्बाइ,चौडाइ र गहिराइ नौ–नौ फिट भएको खाडल निर्माण गरिएको श्रेष्ठले बताइन्। खाडलको माथिल्लो भागमा तख्ता राखेर माटोले छोप्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार खाडलभित्र पिसाब निकासका लागि छुट्टै व्यवस्था गरिएको छ। सहभागीलाई दिनमा एक पटक पिसाब निकास गर्ने व्यवस्था र दैनिक एक लिटर पानी उपलब्ध गराइनेछ।
मंसिर १७ गते डा.योगी विकाशानन्दले जुस पिलाएर भू–तपस्या समापन गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
निराहार तपस्याका क्रममा स्वास्थ्य सुरक्षाका लागि फाउन्डेसनकै स्वास्थ्य टोली खटिने र दैनिक स्वास्थ्य परीक्षण गरिने आयोजकको भनाइ छ। स्वास्थ्य परीक्षणपछि मात्रै तपस्याका लागि सहभागी छनोट गरिएको पनि आयोजकले जनाएको छ।

