
धरान : धरानमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) क्लब काठमाडौंले जितेको छ।
शनिबार धरान–१६ स्थित धरान रङ्गशालामा भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलिएको थियो। अतिरिक्त समयको चौथो मिनेट अर्थात् खेलको ९४औँ मिनेटमा एपीएफकी रश्मि कुमारी चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।
त्यसैगरी, अतिरिक्त समयको १२२औँ मिनेटमा एपीएफकी अनिता केसीले दोस्रो गोल थपिन्। अनिताको गोलसँगै एपीएफले २–० को जित सुनिश्चित गर्दै पहिलो धरान महिला गोल्डकपको उपाधि आफ्नो नाममा लेखाएको हो।
दुई गोल गरेको एपीएफले नेपाल पुलिस क्लबलाई उपविजेतामा सीमित गर्यो। विजेता एपीएफले नगद ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले नगद ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ।
खेलको प्लेयर अफ द म्याच एपीएफकी रश्मि कुमारी चौधरी घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीको उपाधि नेपाल पुलिस क्लबकी रेखा पौडेलले जितिन्। प्रतियोगिताभर ८ गोल गरेकी रेखाले सर्वाधिक गोलकर्ताको उपाधिसमेत हात पारिन्। उनले पुरस्कारस्वरूप ईभी स्कुटरसहित नगद १५ हजार रुपैयाँ प्राप्त गरिन्।
त्यसैगरी, उत्कृष्ट गोलरक्षक एपीएफकी अञ्जिला तुम्बापो सुब्बा घोषित भइन्। बेस्ट डिफेन्डर नेपाल पुलिसकी पूजा राना, बेस्ट मिडफिल्डर एपीएफकी रेनुका नगरकोटी, बेस्ट फरवार्ड एपीएफकी पूर्णिमा राई र बेस्ट प्रशिक्षक एपीएफका जिबेश कुमार पाण्डे घोषित भए। उनीहरूले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे।
साथै, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट गणतन्त्र एफएमका डेभिड बस्नेत सम्मानित भएका छन्। उनले नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरेका छन्।

