
धरान : धरान ८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक धनकुटाका ३६ वर्षीय दीपेन्द्र राज राईको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब ३ः३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको प्रदेश १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा धनकुटा नगरपालिका–९, बेलहराका राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिएका छन्।
दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक वबिन राईको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल नियन्त्रणमा लिनुका साथै ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका–१३, बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
मृतक राईको शव आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि पनि कोशी लोकमार्गमा यातायात सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय धरानबाट करिब तीन किलोमिटर पूर्वमा पर्छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

