
धरान: धरान उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्ने अभियान मंगलबारदेखि सुरु भएको छ।
कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले मंगलबार धरानको भानुचोकमा अभियानको उद्घाटन गरेका हुन्।
अभियान अन्तर्गत धरानका विभिन्न स्थानबाट सडकमा आश्रित ३४ जनाको उद्धार गरी धरान–१६ स्थित मानव सेवा आश्रममा राखिएको छ।
उद्धार गरिएकामध्ये ११ महिला, १५ पुरुष र ८ जना बालबालिका रहेको सामाजिक विकास महाशाखा प्रमुख अनन्त राईले जानकारी दिए।
उद्धार गरिएका व्यक्तिहरूका आफन्तको खोजी गरी परिवारको जिम्मा लगाउने र आफन्त पत्ता नलागेकालाई मानव सेवा आश्रममा राखेर आवश्यक स्वास्थ्य उपचार, हेरचाह तथा संरक्षण गरिने उपमहानगरपालिकाले जनाएको छ।
सडक आश्रित मानवको व्यवस्थापनका लागि धरान उपमहानगरपालिकाले १० लाख रुपैयाँ र कोशी प्रदेश सरकारले १० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ बजेट छुट्याएको छ । उद्धार गरिएका व्यक्तिको सुरक्षित तथा व्यवस्थित व्यवस्थापनका लागि मानव सेवा आश्रम धरानसँग सम्झौता गरिएको छ।
कार्यवाहक प्रमुख बेघाले अभियानलाई भानुचोकमा मात्र सीमित नराखी धरानका सबै क्षेत्रमा सञ्चालन गरिने बताए। सडकमा भेटिएका व्यक्तिको अवस्था पहिचान गरी परिवार खोज्ने,परिवार भेटिएकालाई घर फर्काउने,बालबालिकालाई विद्यालय पठाउने तथा परिवार पत्ता नलागेकालाई मानव सेवा आश्रममा व्यवस्थापन गरिने उनले बताए।
‘धरानका कुनै पनि चोक र गल्लीमा सडकमा आश्रित मानव नभेटिने अवस्था सिर्जना गर्ने हाम्रो प्रतिबद्धता हो,’बेघाले भने, ‘यस अभियानलाई सफल बनाउन धरानवासी, विभिन्न संघसंस्था, प्रहरी प्रशासन र सरोकारवाला निकाय सबैको सहयोग आवश्यक छ।’
अभियानको समापन कात्तिक १८ गतेसम्म गरिने बेघाले जानकारी दिए। अभियानको समापनसँगै धरानमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्ने लक्ष्य राखिएको छ।
घोषणापछि पनि सडकमा सहयोगापेक्षी व्यक्ति भेटिए तत्काल उद्धार गर्न २४ घण्टा सक्रिय रहने संयन्त्र निर्माण गरिने बेघाले बताए। यसका लागि धरान उपमहानगरपालिका,मानव सेवा आश्रम, प्रहरी प्रशासन,वडा कार्यालय,सरकारी तथा गैरसरकारी संस्था र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरिने उनले जानकारी दिए।
उद्धारपछि परिवारसँग पुनर्मिलन गराइएका व्यक्तिको अवस्थाबारे नियमित अनुगमन गरिनेछ। परिवार पत्ता नलागेका व्यक्तिको स्वास्थ्य उपचार, हेरचाह तथा दीर्घकालीन व्यवस्थापन मानव सेवा आश्रममार्फत गरिने उपमहानगरपालिकाले जनाएको छ।
बेघाले केही व्यक्तिलाई निश्चित उमेरसम्म घरमा काममा लगाउने र उमेर ढल्किएपछि सडकमा छाड्ने प्रवृत्ति रहेको सुनिएको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने बताए। मानवताविरोधी कार्य गर्ने वा गराउनेलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ थियो।
धरानलाई सहयोगापेक्षी मानवमुक्त नगर बनाउन नीतिगत तथा वित्तीय प्रत्याभूति, संस्थागत साझेदारी तथा संयन्त्र निर्माण, उद्धार संयन्त्र र सचेतना तथा मानवीय प्रवर्द्धन गरी चारवटा आधार तय गरिएको छ।
कार्यक्रममा धरान उपमहानगरपालिका वडा २ का वडाध्यक्ष रमेश राईले अभियान सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। उनले स्थानीय सरकार, विभिन्न संघसंस्था तथा नागरिकबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए।
अभियानले सडकमा आश्रित व्यक्तिको उद्धार,पारिवारिक पुनर्मिलन,स्वास्थ्य उपचार तथा संरक्षणमार्फत उनीहरूको जीवन सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य राखेको छ।

